कर्णालीमा डुंगा दुर्घटना : शिशुलाई खोप लगाउन हिँडेकी आमाको मृत्यु

कैलाली । कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको मोहन्याल गाउँपालिका–३ राघका २२ वर्षकी धनसरा सलामीमागर रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उनी गम्भीर घाइते थिइन् । उनको २४ दिनको शिशुको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । आइतबार दिउँसो १२ बजे कैलाली मोहन्याल गाउँपालिका–३ रांगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ मा बच्चालाई खोप लगाउन जाने क्रममा डुंगा पल्टिएको थियो ।

अहिले पनि तीन जना बेपत्ता रहेका छन् । बेपत्ता हुनेमा सोहि ठाउँकी २० वर्षकी उर्मिला सलामी, उनको १० दिनको छोरा र २० वर्षकी पार्वत थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए । नदीमा बेपत्ता रहेकाहरुको खोजीकार्य जारी रहेको उनले बताए । (नेपाल प्रेस)

Translate »