‘मानव बेचबिखन नियन्त्रणमा नेपालको कदम सकारात्मक’

साउन १७, काठमाडौं । कोभिड–१९ महामारीको नकारात्मक प्रभावका बाबजुद नेपाल सरकारले मानव बेचबिखन नियन्त्रण गर्नमा प्रगति गरेको यूएस मानव बेचबिखन प्रतिवेदन, २०२१ ले उल्लेख गरेको छ ।

उक्त प्रतिवेदनले नेपालले पालेर्मो आलेखको अनुमोदन, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनमा संशोधन गर्ने कदमलगायत मानव बेचबिखनविरुद्ध निरन्तर रुपमा जनचेतना जगाउने कार्य गर्दै आएको उल्लेख गरेको छ ।

सूचना र सञ्चार प्रविधिमा भएको तीव्र विकासका कारण मानव बेचबिखन नियन्त्रणका चुनौतीहरु पनि बदलिएका छन् । कोभिड–१९ को कारणले भएको बन्दाबन्दीले गर्दा मानव बेचबिखनकर्ताहरुले संकटाभिमुखहरूलाई आकर्षित गर्न र भ्रामक बनाउन सामाजिक मिडिया र मोबाइल प्रविधिहरू बढ्दो रूपमा प्रयोग गरेको देखिएको छ ।

विशेष रूपमा सन् २०१५ को भूकम्प र अहिलेको कोभिड–१९ को महामारीबाट प्रभावित धेरै नेपालीहरू बेचबिखनको जोखिममा छन् । संयुक्त राष्ट्रसंघको मानव बेचबिखनविरुद्धको अन्तरराष्ट्रिय दिवसको उपलक्ष्यमा शुक्रवार आयोजित वेबिनारले यी चुनौतीहरूको सामना गर्न मानव बेचबिखनमा परेकाहरुको दरो संलग्नता र सहभागितामा जोड दिएको छ ।

यस वर्षको नारा ‘पीडितको आवाजले पथ प्रदर्शन गर्छ’ भन्ने छ । सो वेबिनारले आवाज, एजेन्सी, र मानव बेचबिखनमा परेकाहरुको नेतृत्व तथा पीडित केन्द्रित कार्यक्रमहरुले मात्र मानव बेचबिखनको समस्या समाधान गर्न सक्छ भन्नेमा ध्यान केन्द्रित गरेको छ ।

हाम्रो सम्मान परियोजनाले सहयोग गरेका मानव बेचबिखनमा परेका व्यक्तिहरुले कसरी आफूहरु मानव बेचबिखनबाट उम्किन सफल भए र कसरी उत्थानशीलता हासिल गरे भन्ने अनुभव सुनाए । उनीहरू हाल स्थानीय समिति र सरकारसँगको समन्वयमा स्थानीय स्तरमा चेतना अभिवृद्धि, सामुदायिक संलग्नता र रूपान्तरणात्मक सशक्तीकरणमा सहयोग गर्न कार्यरत छन् । सो कार्यक्रममा मानव बेचबिखन नियन्त्रणका लागि बढ्दो संकटाभिमुखता, नयाँ चुनौतीहरुर समन्वयात्मक समाधानबारे छलफल गरिएको छ ।

सो कार्यक्रममा यूएसएआईडी/नेपालकी कार्यवाहक मिशन निर्देशक एड्रियाना हेइजले भने, ‘यस कार्यक्रमले स्थानीय सरकारहरुले आफ्ना समुदायमा मानव बेचबिखन नियन्त्रणका लागि गरेका प्रयासहरुलाई उजागर गर्ने मञ्चको रूपमा काम गरेको छ । नगरपालिका र प्रादेशिक स्तरमा मानव बेचबिखनमा परेका व्यक्तिहरुको सञ्जालहरू, बेचबिखनमा परेका व्यक्तिहरुसँग निजी क्षेत्रको संलग्नता र संघीय तहमा विभिन्न मन्त्रालयहरू र सरकारी निकायहरुको सहकार्य प्रेरणादायक छ र यूएसएआईडी यी कार्यहरुमा साझेदार भएकोमा म गर्व महसुस गर्दछु’ ।

ब्रिटिश दूतावास काठमाडौंका विकास निर्देशक नथेइनि अलबिभानले संकटले महिला र युवतीहरुसहित सीमान्तकृत समुदायहरुमा असमान असर परेको, कोभिड–१९ महामारीले त्यस्ता समूहहरूलाई पहिलेभन्दा बढी जोखिममा पारेको भन्दै स्थानीय सरकारहरू र सरोकारवालाहरूसँग काम गरेर हाम्रो सम्मान परियोजनाले मानव बेचबिखन नियन्त्रणमा पीडितहरुको आवाज र नेतृत्व सुनिश्चित गरेको बताए । (आर्थिक अभियान)

Translate »