दुई दाँतको बीचमा किन हुन्छ खाली भाग ? रोकथाम सम्भव छ ?

‘ओहो ! तिम्रो दाँत त कस्तो फाटिएको रहेछ त !’ कुनै रमाइलो कुरामा हाँसिरहेका व्यक्तिलाई कसैले ‘नोटिस’ नै गरेर यस्तो भनिदियो भने हाँसिरहेका व्यक्तिले आफ्नो अनुहार खुम्च्याउँछ ।
साथीभाइले जिस्केरै भनेपनि दाँत फटिएको समस्या भएका व्यक्तिको मन अमिलो पक्कै हुन्छ ।
त्यसैले पनि आफ्नो दाँत मिलेको सुन्दर र आकर्षक होस् भन्ने चाहना सबैलाई हुन्छ ।

शारीरिक सौन्दर्यता देखाउने विभिन्न पाटोहरू हुन्छन् । मानिसको शारीरिक सुगठन तथा अनुहारको बनोटले शारीरिक सौन्दर्यतामा प्रभाव पार्छ ।

मुसुक्क हाँस्दा कसैले ‘तिम्रो दाँत त कस्तो मिलेको’ भनिदियो भने उसको मन प्रफुल्ल हुन्छ । तर, कतिपय व्यक्तिहरू आफ्नो नमिलेको दाँत अर्थात् फिट्टाफिट्टा भएको दाँत देखेर दिक्क हुनुभएको होला ।  मानिसको दाँत किन फाटिएको हुन्छ ? आज म यो विषयमा जानकारी दिँदैछु ।

अगाडिको दुई दाँत बीचको खाली भाग जसलाई मिडलाइन डायस्टिमा भनिन्छ । मानिसको माथि अगाडिको २ दाँत बीचको दूरी ०.५ मिलिमीटर भन्दा बढी भएमा यो समस्या नै हो ।

किन फाटिएको हुन्छ दाँत ?

दुईदाँत माथि रहने मासुको झिल्ली यदि असामान्य रूपमा रहेकोअवस्थामा, आनुवंशिक रूपमा, बालबालिकाको बढ्ने उमेरमा पनि यो समस्या देखिने गर्छ । तर, सम्पूर्ण दुधे दाँत सकिएपछि यो समस्या आफै समाधान हुन्छ ।

यस्तै, बालबालिकामा हुने हानिकारक बानीजस्तै औंला चुस्ने, ओठ टोक्ने, गाला र जिब्रोको  मासु बीचको असन्तुलनले पनि दाँत फटिएको हुनसक्छ ।

माथिको हड्डीमा रहेको सीस्ट, अतिरिक्त दाँत वा दाँत झरेको अवस्थामा पनि दाँत फाटिएको हुनसक्छ ।

दाँत फाटिएका व्यक्तिमा हुने असर
दाँत फाटिएको समस्या भएका व्यक्तिहरूलाई मनोसामाजिक असर देखिन्छ । आफ्नो दाँत फाटिएकै भएर फोटो समेत खिच्न नखोज्ने गरेको पनि पाइन्छ । मानिसहरूले दाँत फाटिएका व्यक्तिलाई जिस्किएर केही भनिदिए भने उनीहरूमा मनोवैज्ञानिक असर पर्न सक्छ । कतिपय व्यक्तिहरू दाँत फाटिएको छ भन्ने कुरालाई मनमा लिएर खुलेर सामाजिक रूपमा समावेश हुन गाह्रो मान्ने, आत्मविश्वासको कमी, बोलेका केही शब्दहरू प्रस्ट नहुने, सम्पूर्ण दाँत र मुखको हड्डीहरू नमिल्ने समस्या पनि देखिन्छ ।

के यो समस्याको रोकथाम सम्भव छ ?

दाँत फाटिने समस्या बालअवस्थामा हुने नकारात्मक बानीको कारण पनि हुन्छ । बालबालिकामा हुने हानिकारक बानीहरू जस्तै औंला चुस्ने, ओठ टोक्ने आदि समस्या समयमै पहिचान गरेर यस्ता बानीको उपचार समयमै गर्नुपर्ने हुन्छ ।

यस्तै, दाँतमाथि रहेको मासुको झिल्लीको समयमै शल्यक्रिया गरेर, अतिरिक्त दाँत, सीस्ट आदिको पहिचान गरी उपचार गरेमा यस्तो समस्याबाट बच्न सकिन्छ ।

यदि, यस्ता बानीहरूमा सुधार भएपनि दाँत फाटिएको छ भने दन्त चिकित्सकसँग परामर्श लिनु उपयुक्त हुन्छ । यो समस्याको प्रमुख उपचार भनेको तार बाँधेर दाँत मिलाउने हो ।

जुन उपचारपछि दाँतलाई तारले सारेर जोडिदिने गर्छ, यो उपचार सकेसम्म सम्पूर्ण दुधे दाँत साटिएपछि र स्थायी दाँत आइसकेपछि शुरु गर्नुपर्ने हुन्छ ।

यो उपचार अबधी १.५ देखि ३ वर्ष सम्म लाग्ने गर्छ ।

तार बाँध्ने जस्तै अर्को उपचार हो कस्मेटिक उपचार । जसमा २ दाँत बीचको खाली ठाउँलाई कस्मेटिकसिमेन्टले भर्ने गरिन्छ ।
दाँतको माथिबाट कभर गर्ने दाँतको बाहिरी भागमा मात्र कभर गर्ने आदि उपचार विधि हुन्छ ।

अरु कस्मेटिक समस्या भन्दा अगाडिको दाँत बीचको खालीपनले सुन्दरतामा कमी ल्याउने र आत्मविश्वासमा समेत असर गर्ने गर्दछ ।त्यसैले यस्तो समस्याको उपचार गर्नु उत्तम हुन्छ ।  (स्वास्थ्य खबर)

Translate »