सुर्खेतमा ५० लाखको अबैध मालसमानसहित ७ जना पक्राउ

स्काई न्यूज /साउन १६, सुर्खेत ।
व्यापारीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लागु गरिएको खुकुलो निषेधाज्ञाको फाईदा उठाउँदै कर्णाली प्रदेशमा अबैध मालसमान भित्र्याउने क्रम जारी राखेका छन् । पछिल्लो दुई दिन यता सुर्खेत प्रहरीले करिब ५० लाख मूल्यको अबैध मालसमानसहित ७ जनालाई पक्राउ गरेपछि यसको रहस्य खुलेको हो ।

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर–७ का ३७ वर्षीय तुलाराम न्यौपाने, मकवानपुरको आम भञ्ज्याङ गाउँपालिका–६ का २४ वर्षीय रोमप्रसाद घिमिरे, बाँकेको जानकी गाउँपालिका–२ का ४१ वर्षीय दलबहादुर बोहरा, सुर्खेतकै वीरेन्द्रनगर–३ का ३८ वर्षीय धनिराम सुनार, वीरेन्द्रनगर–१२ का ५२ वर्षीय हर्कबहादुर सुनार, लेखबेशी नगरपालिका–५ का २९ वर्षीय धिरेन्द्र शाही र सल्यानको बनगाड कुपिण्डे नगरपालिका–९ का ५५ वर्षीय भिउसने बुढा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ ।

प्रहरीले शुक्रबार छिन्चु चेकप्वाईन्टमा बाँकेको नेपालगञ्जबाट सुर्खेत तर्फ आईरहेको कर्णाली प्रदेश–०२००१ख–००१२ नम्वरको बसमा चेकजाँच गर्दा करिब १ लाख ६५ हजार ६ सय ३७ रुपैयाँको अबैध मालसमान, चितवनबाट सुर्खेत आउँदै गरेको प्रदेश नं.३–०१०२३च–७१४२ नम्बरको जिपमा राजश्व छली अबैध ल्याईएको २ लाख ८ सय ५७ रुपैयाँको ३ सय ९५ थान पीभीसी प्यानल बरामद गरेको छ ।

त्यस्तै बबई चेकप्वाईन्टमा बाँकेको नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश–००२ख–०१०९ नम्वरको बसमा राजश्व छली अबैध ल्याईएको ३ लाख २४ हजार १० रुपैयाँको अबैध मालसमान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीले बताए । उनले विभिन्न प्रकारका अबैध मालसमान ओसार पसार भईराखेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय छिन्चुको नेतृत्वमा गरिएको चेकजाँचका क्रममा अबैध समान बरामद गरि ३ जनालाई नियन्त्रणमा लिएर आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाईएको जानकारी दिए ।

उनका अनुसार विहीबार छिन्चु चेकप्वाईन्टमा काठमाडौंबाट जुम्ला जान लागेको ना. ६ ख– ६३३८ नम्बरको बसमा चेकजाँच गर्दा ४० लाख २६ हजार ५ सय ५३ रुपैयाँको अबैध मालसमान बरामद गरि चालकसहितलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाईएको छ । त्यस्तै विहीबार नै भेरीगंगा नगरपालिका–१०, सुर्खेत–नेपालगञ्ज रोडबाट अबैध खनिज पदार्थ ओसार पसार भईरहेको सूचनाको आधारमा भे ४प–९३३२ नम्वरको मोटरसाईकलसहित १४० ग्राम निलो रंगको लेपिस नामको ढुङ्गा जस्तो देखिने खनिज पदार्थ बरामद गरेर आवश्यक कार्वाहीका लागि खनिज तथा भूगर्भ कार्यालय सुर्खेत पठाईएको डीएपपी घर्तीले जानकारी दिए । उनले अबैध खनिज ओसार पसारमा संलग्नलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको बताए ।

Translate »