कति छन् नोट ?

काठमाडौं : बजारमा नगदको माग र प्रयोग बढेको छ। पछिल्लो समय प्रायः प्रत्येक महिना चलनचल्तीमा जाने नोट अर्बौंले थपिएको छ। तर, बैंकिङ प्रणालीभन्दा बाहिर अनौपचारिक कारोबार भएको हुन सक्ने बैंकरको आशंका छ।

असारमा मात्रै ११ अर्ब ४५ करोड रुपैयाँबराबरको थप नोट चलनचल्तीमा गएको छ। यो दरमा मासिक वृद्धि हुँदा हालसम्म चलनचल्तीमा ६ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ रकम गएको छ। यो बैंक तथा वित्तीय संस्थाको ढुकुटी, सहकारी संस्थाहरू, गैरबैंकिङ संस्था र नागरिकसँग रहेको रकम हो। बैंकर भने यस्तो नगद बैंकिङ प्रणालीभन्दा सर्वसाधारणसँग बढिरहेको बताउँछन्।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को तथ्यांकले पछिल्लो एक वर्षमा मात्रै ८१ अर्ब रुपैयाँ बजारमा थपिएको देखाएको छ। यसबीच चार महिना अर्थात् मंसिर, पुस, माघ र फागुनमा भने नोटको माग कम देखिन्छ। किनभने, उक्त अवधिमा चलनचल्तीको नोट वृद्धिमा संकुचन आएको छ। त्यसअघि असोजमा २९ अर्ब रुपैयाँ थपिँदा बजारमा कुल ६ खर्ब २१ अर्ब रुपैयाँ थियो। यस्तै, कात्तिकमा २६ अर्ब थपिँदा कुल ६ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको थियो। यस अवधिमा दसैं, तिहार र छठजस्ता चाडपर्वले गर्दा पनि सर्वसाधारणले नगद घरमा थुपारेकाले बढ्न गएको हो।

तर, असार मसान्तमा बढ्नुको कारण धेरै सरकारी भुक्तानी भएको र यसमा पनि घुस खानेहरूले बैंकमा पैसा नराख्ने भएकाले प्रणालीभन्दा बाहिर चलनचल्तीमा धेरै भएको हुन सक्ने स्रोतको भनाइ छ। बढी नगदमा कारोबार हुँदा अनौपचारिक बजार बढेको बैंकरको आशंका छ।

केन्द्रीय बैंकमा विदेशी मुद्रा लगेर नेपाली मुद्रा साट्न आउने बढेकाले पनि जेठको तुलनामा असारमा यसको माग बढी देखिएको राष्ट्र बैंकले बताएको छ। बैंकिङ प्रणालीमा प्रविधिको प्रयोग गरी तलबदेखिका सबै कारोबार गर्ने हो भने चलनचल्तीका नोट कम हुने राष्ट्र बैंकका वित्तीय व्यवस्थापन विभागका कार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्रीले बताए।

कार्यकारी निर्देशक क्षेत्रीका अनुसार अहिले डिजिटल बजारलाई प्रोत्साहन गर्न खोजे पनि बजारमा भने मुद्रालाई नै प्राथमिकता दिएको देखिन्छ। तर, यो मासिक नगदको माग हेर्दा नागरिकले डिजिटल कारोबारलाई पूर्णरूपमा अपनाउन नसकेको क्षेत्रीको ठम्याइ छ। नागरिकले अझै नगद हातहातमा लिने बानी हटाउन नसकेकाले पनि यसको माग बढी भएको उनले बताए।

‘हामीले बैंक ट्रान्सफर, अनलाइन भुक्तानी, क्यूआर कोडलगायत भुक्तानीका माध्यमलाई प्रवर्द्धन गर्न खोजेका छौं। तर, यसको अहिले नै पूरै प्रभाव परेको छैन, विस्तारै पर्दै छ’, उनले भने, ‘अझै पनि कतिपय बैंकको झन्झटभन्दा नगद बोकौं भन्ने सोच भएका पनि छन्।’

यद्यपि अर्थतन्त्रको आकार बढ्दै जाँदा नगद प्रवाह पनि बढ्नु स्वाभाविक भएको उनको भनाइ छ। अझै पछिल्लो समय कोभिड संक्रमणको डरले डिजिटल कारोबार फस्टाएको छ। यस्तो कारोबार नभएको भए अझै नगदको माग बढी हुन सक्ने उनले औंल्याए।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले चलनचल्तीमा नोट थुप्रिएको प्रति आश्चर्य जनाए। अहिले डिजिटल कारोबार हँुदा नगदको आवश्यकता कम पर्ने अध्यक्ष दाहालको तर्क छ।

‘बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो ढुकुटीमा नगद एकदम कम राख्छन्।  हामी बिनाब्याजको रकम राख्न चाहँदैनौं। घाटा लाग्छ। नगद राष्ट्र बैंकमा राख्छौं’, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहालले भने, ‘यसैले चलनचल्तीको नोटअन्तर्गत बैंकको भल्टमा रहेको भन्दा पनि नागरिकले घरमा राखेको धेरै हुन गएको देखिन्छ। बैंकिङ प्रणालीमा जति धेरै नोट हुन्छ त्यो चलनचल्तीमा आउँदैनथ्यो।’

यस्तो नोट बढ्नुका कारण बैंकहरूबाट भएको कर्जा प्रवाह पनि हो। बैंकहरूले निक्षेप संकलनभन्दा बढी ऋण लगानी गरे भने पनि नागरिकसँग नगद रहन सक्छ। तर, सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले मात्रै गत आवमा थप ७ खर्ब ११ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गर्दा ८ खर्ब १५ अर्ब ४४ करोडको कर्जा प्रवाह गरेका छन्। यसरी व्यवसाय थपिँदा असार मसान्तसम्ममा कुल निक्षेप संकलन ४२ खर्ब १ अर्ब ३९ करोड पुगेको छ। कर्जा प्रवाह ३७ खर्ब २० अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। (अन्नपूर्ण पोस्ट)

Translate »