जमुनाह नाकामा सुरक्षा सतर्कता

राँझा । कोभिड–१९ को तेस्रो लहरको सम्भावित जोखिमलाई ध्यान दिँदै नेपालगन्जस्थित नेपाल–भारत सीमा जमुनाहनाकामा सुरक्षा सतर्कता अपनाइएको छ ।

भारतमा नयाँ डेल्टा भेरियन्ट भाइरसका सङ्क्रमित बढ्न थालेपछि रोजगारीका लागि त्यहाँ गएका नेपाली धमाधम स्वदेश फर्किन थालेका हुन् । स्वदेश फर्किएका नेपालीका सीमामा स्वास्थ्य जाँच थालिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक धीरजङ्ग शाहले जानकारी दिए। उनले भारतमा फैलिएको महामारी नेपालगञ्जमा भित्रिन सक्ने अवस्थालाई ध्यान दिँदै उच्च सतर्कता अपनाएको बताए।

नाकामा अहिले सीमावर्ती शहर रुपैडिहामा किनमेलका लागि जाने र स्वदेश फर्किनेको भीड लाग्ने गरेको छ । दैनिक रूपमा नेपाली उपभोक्ता किनमेलका लागि भारतीय बजारमा पुग्दा कोभिडको उच्च जोखिम फेरि बढ्न सक्ने उनले बताए ।

भारतबाट आउने व्यक्ति अधिकांश लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लाका नागरिक हुन् । जमुनाहनाका हुँदै भारतबाट अहिले दैनिक रूपमा ५०० देखि ६०० को हाराहारीमा मजदुर नेपालगन्ज भित्रिरहेको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक पूर्ण खत्रीले जानकारी दिए । उनका अनुसार दिल्ली, चण्डिगढ, गुजरात, मुम्बईजस्ता ठाउँमा काम गर्न पुगेका मजदुर अहिले फर्किरहेका छन् भने नेपालतर्फबाट पनि मजदुर भारततर्फ फर्किएका छन् । (रेडियो नेपाल)

Translate »