सिम्तामा टेलिकमको नयाँ रिपिटर टावर

दोव्बर क्षमताका आठ सय मेगाहर्ज र १८ सय मेगाहर्ज व्याण्ड जडान

स्काई न्यूज / साउन १३, सुर्खेत ।
पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका आसपासका नागरिकलाई मोबाइल नेटवर्क गइरहने समस्या अन्त्य भएको छ । नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण र सिम्ता गाउँपालिको सहकार्य मंगलबार काप्रिचौरमा टेलिकमको नयाँ रिपिटर टावर सञ्चालनमा ल्याईएसँगै मोबाइल नेटवर्क गइरहने समस्या अन्त्य भएको हो । करिब दश वर्ष पहिले सोलारबाट सञ्चालित टेलिकमको मोवाईल टावरमा विद्युत लाईन जडान गरिएपछि वर्षात र हिउँदमा नेटवर्क गइरहने समस्या अन्ते हुने अपेक्षा गरिए छ । नेपाल टेलिकमको २० लाख, नेपाल विद्युत प्राधिकरणको १५ लाख र सिम्ता गाउँपालिकाको १५ लाख गरि कुल ५० लाख रुपैयाँमा विद्युत लाईन विस्तार गरिएपछि टेलिकमको नयाँ रिपिटर टावर स्थापना भएको हो ।

टेलिकमका सुर्खेत प्रमुख नारायणप्रसाद कुसिले सिम्ता आसपासका क्षेत्रमा वर्षात र हिउँद मासमा पर्याप्त घाम नलाग्दा सोलार चार्ज नभएर फोन नलाग्ने समस्यालाई विद्युतलाईन जडान गरेर अन्त्य गरिएको जनाए । ‘सिम्ताको हाईअल्टिच्युडमा क्षेत्रमा अवस्थित काप्रिचौरमा विद्युतलाईन पु¥याउनुका साथै नयाँ रिपिटर टावर जडान गरेर सञ्चालनमा ल्याएका छौं,’ उनले भने, ‘कुनै कारणबस विद्युत गरिहालेपनि सोलारको व्याकपलाई थप परिस्कृत गरेर जुनसुकै बेलापनि टावरले काम गर्ने बनाएका छौं ।’ उनले काप्रिचौर रिपिटर टावरमा विद्युतलाईनसँगै सोलार प्यानल समेत राखिएको बताए । उनका अनुसार काप्रिचौर रिपिटर टावरमा दोव्बर क्षमताका आठ सय मेगाहर्ज र १८ सय मेगाहर्ज व्याण्ड जडान गरिएको छ ।

सिम्ता गाउँपालिका आसपासका क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर अब केही दिनमै टेलिकमको फोरजी सेवा समेत सञ्चालनमा ल्याउन लागिएको उनले जानकारी दिए । ‘काप्रिचौरमा दोब्बर क्षमताको नयाँ रिपिटर टावर सञ्चालन भएसँगै अब सुर्खेतका सिम्ता, गुर्भाकोट, चिङगाड, लेखबेशी, सल्यानको सल्लीबजार, कुपिण्डे, रुकुमको चौरजहारी एवं जाजरकोटमा लिंङकेज टावरमार्फत सेवाग्राहीलाई गुणस्तरीय सेवा पुग्नेछ,’ उनले भने, ‘विद्युतलाईन विस्तार भएका क्षेत्रमा टेलिकमको सेवा स्तरीय रहेपनि सोलारबाट सञ्चालित रिपिटर टावरमा भने बेला–बेला समस्या आउने गरेको छ ।’

सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले विकास दृष्टिले उप्रेक्षित रहेको सिम्ता क्षेत्रका आम नागरिकको माग र जनप्रतिनिधिको प्रयत्नबाट टेलिकमको नयाँ रिपिटर टावर स्थापनासँगै मोवाईल फोन नलाग्ने समस्या अन्त्य हुने विश्वास व्यक्त गरे । ‘सिम्तामा भरपर्दो मोवाईल सेवा नहुँदा फोन नलाग्ने समस्याले नागरिक आजित बनेका थिए । त्यसैमा इन्टरनेट सेवा भरपर्दो नहुँदा सरकारी सेवा प्रवाह बेला बेलामा अवरुद्ध हुने समस्या थियो,’ उनले भने, ‘रिपिटर टावर निर्माण भएसँगै स्थानीय बासिन्दाका अलवा सिम्ता पुग्ने व्यापारी र पर्यटकसमेतलाई सुविधा पुग्ने विश्वास लिएका छौं ।’ उनले नयाँ रिपिटर टावर स्थापनासँगै विद्युतलाईन विस्तारमा प्रत्यक्ष सहयोग पु¥याउने टेलिकम सुर्खेतका प्रमुख कुसिसँगै नेपाल विद्युत प्राधिकरण सुर्खेत शाखा प्रमुख टंकराज गिरीलाई समेत धन्यवाद व्यक्त गरे ।

Translate »