कर्णाली प्रदेशमा २१ किलोमिटर सडक कालोपत्र

साउन १३, सुर्खेत । कर्णाली प्रदेश सरकारले एक वर्षमा २१ किलोमिटर सडक कालोपत्र गरेको छ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रगतिको समीक्षा गर्दै २१ किलोमिटर सडक कालोपत्र गरेको जानकारी दिइएको हो ।

११३ दशमलव ६ किलोमिटर सडक ग्राभेल र ७५८ दशमलव दुई किलोमिटर नयाँ सडक बनाइएको छ । त्यस्तै प्रदेश सरकारले कर्णालीमा ११ ओटा झोलुंगे पुल र सातओटा सडक पुल निर्माण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

ऊर्जा तथा विद्युतीकरणबाट कर्णालीका तीन हजार ५४० घरधुरीमा विद्युत् सुविधा विस्तार गरेको  कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले जानकारी दिइन् । मन्त्री नेपालीका अनुसार जनता आवास कार्यक्रमअन्तर्गत दलित विपन्न समुदायका ७६७ घर निर्माण कार्य पूरा भएको छ ।

कर्णाली प्रदेश सरकारले दुई हजार १४५ हेक्टर जमीनमा थप सिँचाइ सुविधा उपलब्ध गराएको छ भने पाँच हजार ७१० थप घरधुरीमा स्वच्छ खानेपानी सुविधा उपलब्ध गराइएको प्रवक्ता नेपालीले बताए ।

त्यस्तै, सरकारले नदी नियन्त्रणका लागि १८ दशमलव ७७ किलोमिटर  तटबन्धन निर्माण गरेर १८० हेक्टर थप जमीन उकास भएको छ । विभिन्न कार्यक्रमअन्तर्गत विभिन्न जिल्लामा वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय भवन निर्माण लगायतका पूर्वाधार निर्माणका कार्य सम्पन्न भएको प्रगतिमा उल्लेख गरिएको छ  । रासस

Translate »