बर्दियामा धान उत्पादन बढ्दै

गुलरिया : धानमा देशकै कुल उत्पादनको ठूलो हिस्सा ओगटेको बर्दिया खाद्यान्न बालीसँगै धानमा आत्मर्निभर बनेको छ। उत्पादित खाद्यान्न जिल्लामा खपत भई बचेको खाद्यान्न निर्यात गर्नुपर्ने अवस्था आएपछि बर्दिया जिल्ला धानमा आत्मर्निभर बनेको हो।

जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये ५० हजार २ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ। बर्दियामा थप ९ सय ९८ हेक्टर क्षेत्रफलमा चैते धानखेती हुन्छ। बर्दियामा वर्षे र हिउँदे गरी बाह्रै महिना धानखेती हुन्छ। वर्षे धानको ४ दशमलव ५ मेट्रिक टन प्रतिहेक्टर तथा हिउँदे धानको ५ दशमलव ५ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व छ। बर्दियामा उत्पादित धान जिल्लामा खपत भई अन्य जिल्लामा निर्यात हुने गरेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख विनोद घिमिरेले बताए।

बर्दियामा गत वर्ष बर्खे धानको उत्पादन २ लाख २६ हजार ६२८ मेट्रिक टन र चैते धान ५ हजार ४ सय ८९ मेट्रिक टन उत्पादन भयो। जिल्लामा धानखेती गरिने ७० दशमलव ८२ प्रतिशत भूमिमा सिँचाइ सुविधा छ। सिँचाइका लागि कुलोपानीलगायत भूमिगत सिँचाइ कार्यक्रम सञ्चालन भइरहेको छ। लुम्बिनी प्रदेशका जिल्लामध्ये बर्दिया, बाँके, दाङ, रुपन्देही, कपिलवस्तु र नवलपरासी गरी ६ जिल्ला धान उत्पादनको दृष्टिकोणले महत्वपूर्ण छन्।

बर्दियामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत राजापुरमा धान सुपरजोन कार्यक्रम लागू छ। बर्दिया धान उत्पादनको दृष्टिकोणले महत्वपूर्ण छ। चालू कार्यक्रमले चैते धानखेतीलाई मात्र महत्व दिएको छ। लुम्बिनी प्रदेशमा बर्दियाले २२ प्रतिशत धानको योगदान दिएको प्रमुख घिमिरेले प्रष्ट्याए। बर्दिया जिल्ला कृषि उर्बरको उद्गम थलो मानिए पनि यहाँ धान भण्डार गर्ने क्षमता नहुँदा समस्या परेको छ। बर्दियामा मोटो धान उत्पादनलाई मात्र प्राथमिकता दिने भएकाले व्यापारीहरूको मसिनो धानमा आकर्षण छ।

घिमिरेले भने, ‘हामीले मसिनो धान खेती प्रबद्र्धन गर्न स्थानीय तहमार्फत बीउ, विजनमा अनुदान दिएका छौं। जिल्लामा ७० हेक्टर क्षेत्रफलमा मसिनो धान खेतीको कार्यक्रम लागू छ।’ बर्दियामा ९८ प्रतिशत रोपाइँ सकिएको छ। कृषकहरू मसिनो धान खेतीमा लाग्नुपर्ने उनले सुझाव दिए। बर्दियामा चैते धानको उत्पादन राम्रो छ। तर, वर्षासँगै धान भित्र्याउने समय पर्ने भएकाले किसानहरूलाई समस्या झेल्नुपर्छ। बर्दिया जिल्ला बाढी प्रभावित भएकाले वर्षात्का बेला धानखेतहरू बाढीले बिगार्ने गर्छ।

बर्दियाको ७५ हजार हेक्टर भूमि खेतीयोग्य छ। जिल्लामा अधिकांश धानखेती हुन्छ। एउटा मानिसलाई वर्षभरिमा ४ सय ७ केजी धान आवश्यक पर्छ। एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका सूचना अधिकारी सन्तोष पाठकका अनुसार बर्दियामा ७ सय ५३ केजी धान उत्पादन हुन्छ। बचेको ३ सय ४६ केजी धान निर्यात हुन्छ। धानबालीसँगै बर्दिया जिल्ला मकै, गहुँ, तरकारी, आलु, दूध, मासुमा पनि आत्मनिर्भर छ।

मलको समस्या
बर्दियामा कृषि कार्यका लागि युरिया, डिएपी र पोटास लगायतका रासायनिक मलको निकै आवश्यकता पर्छ। किसानहरू मल अभावका बेला सीमावर्ति भारतीय बजारबाट दुःख झेलेर मल ल्याउन बाध्य हुन्छन्। सरकारले मलका लागि कुनै ठोस कार्यक्रम नबनाउँदा किसानहरूले समस्या भोग्नुपर्ने बाध्यता छ। जिल्लालाई वर्षभरिमा युरिया करिव ७ हजार मेट्रिक टन, डिएपी ५ हजार मेट्रिक टन र पोटास ५ सय मेट्रिक टन आवश्यकता पर्ने कृषि सामाग्री कम्पनी गुलरिया शाखाका प्रमुख मोहन सिंह केसीले बताए।

धान खेतीका लागि मात्र युरिया करिव ४ हजार मेट्रिक टन, डिएपी २ हजार ५ सय मेट्रिक टन र पोटास २ सय मेट्रिक टन आवश्यक पर्छ। उनले भने, ‘यतिखेर हामीसँग युरिया १ सय ९० मेट, डिएपी १ सय ६५ मेट मौज्दात छ। पोटास सकिएको छ। धान पाक्दा सम्मलाई १ हजार मेट्रिकटन युरियाको आवश्यकता छ। मल दैनिक आइरहेको छ। पहिलेको जस्तो अभावको अवस्था छैन।’(अन्नपूर्ण पोस्ट)

Translate »