मनसुनी वायुको प्रभावले तीन दिन अधिकांश स्थानमा वर्षा

साउन ११, काठमाडौं । मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ ।

सोमवारदेखि विस्तारै न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने देखिएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् ।

उनका अनुसार सो प्रणालीका कारण सोमवार सुदूपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा, मंगलवार राति प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बताइएको छ ।

बुधवार देशैभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भई केही स्थानमा भारी / धेरै भारी वर्षाको सम्भावना रहेकाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानका हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार सोमवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २२ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस छ । रासस

Translate »