‘यौनिक अल्पसंख्यकको सुरक्षामा सरकार गम्भीर छ’

स्काई न्यूज /साउन ७, सुर्खेत ।
सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले यौनिक अल्पसंख्यकको सुरक्षा र रोजगारमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । उनले यौनिक अल्पसंख्यकहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउने कार्यक्रम सरकारको रहेको बताए । ‘यौनिक अल्पसंख्यकहरु अहिले पनि खुल्न सक्नु भएको छैन्, खुलेकाहरु पनि असुरक्षित हुनुहुन्छ,’ बिहीबार यौनिक अल्पसंख्यकहरुसँगको छलफल कार्यक्रमा मन्त्री बुढाक्षेत्रीले भने, ‘तपाईंहरुको सुरक्षा र रोजगारको विषयमा सरकार गम्भीर छ ।’

मन्त्री बुढाक्षेत्रीले कर्णाली प्रदेशभरी रहेका यौनिक अल्पसंख्यकको तथ्याङ्क उपलब्ध गराउन सरोकारवालाहरुसँग आग्रह गरे । ‘कर्णालीभरी कति जना यौनिक अल्पसंख्यक हुनुहुन्छ, त्यसको तथ्याङ्क भए सीप सिकाउन, क्षमता अनुसारको काम दिन र स्वरोजगार बनाउन सहज हुन्थ्यो,’ मन्त्री श्रेष्ठले भने, ‘तथ्याङ्क उपलब्ध गराउने काममा सरोकारवाला संघ–संस्थाको सहयोग मन्त्रालयलाई आवश्यक छ ।’

सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले यौनिक अल्पसंख्यकहरुका लागि चालू आर्थिक वर्षमा सीपमूलक तालिमको व्यवस्था गरिएको बताए । उनले यौनिक अल्पसंख्यकहरुको तथ्याङ्क नहुँदा काम गर्न मन्त्रालयलाई असहज भइरहेको बताए । सचिव काप्रीले यौनिक अल्पसंख्यकहरुका बारेमा विद्यालय तहको पाठ्यक्रममा समेट्नुपर्ने आवश्यकता औल्याए ।

निलहिरा समाजका भूमिका श्रेष्ठले विद्यालय तहदेखिनै यौनिक अल्पसंख्यकहरुको बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्नु पर्ने आवश्यकता औल्याइन् । ‘घर, परिवार र समाजको डरले यौनिक अल्पसंख्यकहरु अझै पनि खुल्न सक्नु भएको छैन्,’ उनले भनिन्, ‘त्यसका लागि सचेतना कार्यक्रम फैलाउन जरुरी छ ।’

ब्लुडाइमण्ड सोसाइटीका मनिषा ढकालले गृह मन्त्रालयले नागरिकताको विषयमा परिपत्र गर्दा पनि अहिलेसम्म आफ्नो पहिचानसहितको नागरिकता आफूहरुले पाउन नसेकेको बताइन् । उनले कोरोनाविरुद्धको खोपमा औनिक अल्पसंख्यकहरुलाई प्राथमिकता दिन आग्रह गरिन् ।

Translate »