नेपालमा कोरोना संक्रमणको तेस्रो लहर आउन सक्छ : स्वास्थ्य मन्त्रालय

साउन ७, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर आउनसक्ने बताएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिहीवार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउनसक्ने बताएका हुन्।


तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, शय्या पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ । मन्त्रालयबाट तेस्रो लहर आएर भयाभह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको अधिकारीले बताए ।

‘सबै अस्पताललाई अक्सिजन भर्न र शय्या तयारी अवस्थामा राख्न निर्देशन दिएका छौं’, उनले भने, ‘तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले बालबालिकाका लागि सघन उपचारकक्ष (आइसीयू) र भेन्टिलेटर तयारी अवस्थामा राख्न भनेका छौं ।’

नेपालमा गत चैत दोस्रो सातादेखि दोस्रो लहरको संक्रमण छ । नेपालमा अहिलेसम्म ७ लाख २४ हजार ४५५ व्यक्तिमा संक्रमण पुष्टि भएको छ । यस्तै ६ लाख ३६ हजार ४०२ व्यक्ति स्वास्थ्य लाभ गरी घर फर्किएका र ९ हजार ६३७ जनाको संक्रमणबाट निधन भइसकेको छ ।  रासस

 

Translate »