‘माधव नेपाललाई दोस्रो अध्यक्ष दिन ओली तयार’

साउन ६, काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आफ्नो राजनीतिक जीवन र कम्युनिस्ट आन्दोलन जोगाउनुपर्नेमा जोड दिँदै असन्तुष्ट पक्षलाई एकतामा आउन आग्रह गरेका छन् ।

केन्द्रीय कमिटीको जारी १० पूर्ण बैठकको तेस्रो दिन बुधबार अध्यक्ष ओलीले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास आफू तत्पर रहेको स्पष्ट पारेका छन् ।

‘पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु,’ बुधबारको बैठकमा बोल्दै ओलीले भने, ‘यतिभन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन । बाहना खोजिएको छ ।’

सर्वोच्च अदालतको गत असार २८ गतेको फैसला संसदीय व्यवस्थानुकूल नभएको टिप्पणी गर्दै जनताको चाहनालाई कुच्चेर केही नेताले गद्दारी गरेकाले आफ्नो नेतृत्वको सरकार ढलेको बताए । ‘‘मसँग अब अरु आग्रह छैन । म एकताको मोही अझै मथ्दै छु,’ उनले भने, ‘सकभर सत्ता गठबन्धनमा लागेका सबै पार्टीका नेतालाई आफ्नो राजनीतिक जीवन बचाउन आन्दोलन बचाउन अनुरोध गर्छु ।’

ओलीले केन्द्रीय कमिटीमा उबहुमत दिनुपर्ने माग मान्न भने आफू तयार नभएको प्रष्ट पारेका छन् । उनले आफूलाई पार्टीबाट निकाल्न यस्तो माग गरिएको भन्दै प्रश्नसमेत गरेका छन् ।

‘केन्द्रीय कमिटीमा बहुमत चाहियो भनिरहेका छन् । हामीलाई पार्टीबाट निकाल्न ?,’ प्रश्न गर्दै ओलीले भने ।

पार्टीको नीतिविपरीत नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने नेता माधवकुमार नेपालसहित २२ सांसद्लाई स्पष्टीकरण सोधेको एमालेले त्यसबारे जवाफ आएपछि निर्णय गर्ने एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी सो पार्टीको १०औँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओली नेतृत्वको निवर्तमान सरकारका उपलब्धि, सर्वोच्च अदालतको असार २८ गतेको फैसला पार्टीको आगामी कार्ययोजना, पार्टीको सुदृढीकरण र शुद्धीकरण अभियानलगायत विषय कार्यसूची रहेका छन् ।

बुधबारको बैठकले संविधानको धारा ७६ (५) को सरकार बनाउँदा दलीय ह्विप नलाग्ने फैसला गरेकाले उक्त दफालाई संशोधन गर्ने पहल गर्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

बैठकले ओली नेतृत्वको सरकारले विविध चुनौतीका बीच विकास र समृद्धिका पक्षमा उपलब्धि हासिल गरेको र प्रतिपक्षमा रहेर संविधान, लोकतन्त्र र राष्ट्रियताका सम्बन्धमा सशक्त र प्रभावकारी काम गर्ने निर्णय गरेको छ ।

नेता ज्ञवालीले हालको स्थितिबाट निराश नहुन कार्यकर्तालाई आग्रह गर्दै पार्टीको शक्ति पुनःफर्काइने बताए । अर्को बैठक बिहीबार दिउँसो ३ बजे पुनःबस्नेछ । (अन्नपूर्ण पोष्ट)

Translate »