साउनमा हरियो चुरा किन्नेको भिड छैन

व्यापारीलाई पुरानै स्टक बेच्न सकस

शान्ति सुनार / साउन ६, सुर्खेत ।
प्रत्येक वर्ष साउन लागेसँगै हरिया–पहेंला चुरा, मेहेन्दीले युवतीहरु सजिन्छन् । श्रावणमा हरियो चुरा र कपडा लगाउनाले भाग्य प्रभावित हुने जनविश्वास रहि आएको छ । साउन महिना हरियालीको महिना पनि हो । हरियो चुरा र साडी लगाएर नारीले शिव भगवानको विशेष पूजा अर्चना गर्छन् । जसका कारण आफू र पतिको आयु बढ्ने विश्वास रहि आएको छ । श्रावणमा हरियो पहिरिँदा शिव भगवान् खुसी हुने धार्मिक विश्वास छ । जब भक्तले स्वयंलाई प्रकृतिसँग नजिक ल्याउँछन्, तब भगवान् शिवले उनीहरुको मनोकामना पूरा गर्ने विश्वास गरिन्छ ।

हरियो रंग प्रकृति, उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक ऊर्जा वृद्धिको प्रतिक हो । हरियो उपचारको रंग पनि हो, जुन मुटुसँग जोडिएको हुन्छ । उच्च रक्तचापको समस्याका लागि पनि हरियो राम्रो मानिन्छ । त्यसैले साउन महिना महिलाहरुका लागि विशेष महिना हो । यो महिनामा भगवान शिवको व्रत र पूजा गर्ने गरिन्छ । धार्मिक, सांस्कृतिक तथा प्राकृतिक हिसाबले पनि साउनको छुट्टै महत्व छ ।

साउनमा विवाहित तथा अविवाहित महिलाले विभिन्न मनोकांक्षा राखेर व्रत बस्ने गर्छन । महिलाहरु हरियो पहिरनमा सजिनुका साथै हरेक सोमबार व्रतसमेत बस्ने गर्छन् । साउन महिना सुरुभएसँगै बजारमा हरियो चुरापेतो र महेन्दी लगाउनेको चहलपहल शुरु हुन्छ । तर गत वर्ष झै यस वर्ष पनि बजारमा हरियो चुरापोते र मेहन्दी लगाउने महिलाहरुको चाप श्रृंगार पसलहरुमा घटेको छ ।

असार अन्तिमदेखि नै साउनमा हरियो पोते, चुरा र मेहन्दी लगाउने भिड हुन्थ्यो तर यो वर्ष पनि कोरोना संक्रमणको डरले ग्राहक शून्य जस्तै भएको व्यवसायीहरु बताउँछन् । साउनमा श्रृंगार समाग्री किन्न सुर्खेत सदरमुकाम वीरेन्द्रनगरका कस्टेमिक पसलमा घुइँचो लाग्थ्यो । तर कोरोना महामारीसँगै व्यापारमा समेत कमी आएको व्यावसायीहरुको भनाई छ ।

राजा चोक नजिकै ५ वर्ष अघिदेखि श्रृंगार पसल सञ्चालन गर्दै आएकी शान्ता गुरुङले गत वर्षको तुलनामा यो वर्ष चहलपल बढेपनि व्यापार बढ्न नसकेको बताईन् । उनले अघिल्लो वर्षको तुलनामा यस वर्ष केही व्यापार भएपनि सन्तोषजनक नरहेको जनाईन् । ‘लामो समय लकडाउन भयो । लकडाउन खुकुलो भए पनि व्यापार छैन् । अहिले सटरभाडादेखि अन्य खर्च दिनै मुश्किल भईरहेको छ’, ‘यो महामारीबाट सबै सचेत हुनुपर्छ । आफ्नो ज्यानको सुरक्षा आफै पनि गर्नु आवश्यक छ’, उनले भनिन्, ‘हामीले ग्राहकका लागि सेनीटाइजरको व्यवस्था गरेका छौं । धेरै भिडभाड गर्न पनि दिदैनौं पालो गरेर पसलमा भित्र छिर्न दिन्छौं ।’

उनले तेस्रो चरणको कोरोना आउने डरले पनि बजारमा हरियो चुरापोते र मेहन्दी लगाउने महिलाहरुको चाप श्रृंगार पसलहरुमा घटेको बताईन् । त्यस्तै अर्का पसल सञ्चालक कल्पना थापाका अनुसार यतिबेला तल्लो बजारदेखि राजाबजारसम्म छिरि नसक्नुको भिड हुन्थ्यो । महिलाहरु श्रृंगार सामग्री किन्न तछाडमछाड गर्नु पथ्र्याे ।

तर विगत दुई वर्ष देखि कोरोनाका कारण गाउँघरबाट शहर आउने ग्राहक समेत आउन नसको उनी बताउँछिन् । ‘महिनौं बन्द भएको पसल केही समयदेखि खोल्न शुरु गरेका छौं । पसल घरभाडा कसरी तिर्ने घर बस्नु भन्दा बरु दुईचार पैसा त हुन्छ । त्यसैले पसल खोल्ने शुरु गरेको छु । व्यपार नभए पनि टाइम पास भएको छ’, उनले थपिन् ।

श्रृंगार समाग्री किन्न र बेच्न एक आपसमा छुने हुनाले आफैमा जोखिम छ । त्यसैले पनि अन्य व्यवसाय भन्दा जोखिम रहेकोले आफूहरुले सुरक्षा अपनाएको उनी बताउँछिन् । कोरोना कहरबीच पनि केहि महिलाहरु भने पसलमा साउन महिनाको लागि श्रृंगार समाग्री किन्न राजाचोकमा आएको भेटिएका छन् । खजुरा चोककी संगीता भण्डारीले आफूलाई चाहिले श्रृंगार समाग्री किन्न बजार आएको जनाईन ।

उनले गत वर्ष जस्तै यो वर्ष पनि उनलाई साउन महिनामा हरियो पोते चुरा लगाउने रहरको बताईन् । उनले भनिन, ‘मास्क लगाएर सचेत हुनु पर्छ । अहिले ग्राहकले पनि आफुले बुझेर पहिलेको जस्तो भिडभाड गर्नु हुँदैन् । सबै जना स्वास्थ्य सुरक्षा अपनाएर बजारमा किनमेल गर्नु पर्छ ।’

साउनमा किन लगाइन्छ हरियो पहिरन ?
साउन महिना सुरु भएसँगै अधिकाशं हिन्दु धर्मालम्वी महिलाका हातमा मेहन्दी र रंगीबिरंगी चुराले सजिएको देख्न सकिन्छ । त्यसमाथि नेपाली हिन्दु नारीहरुकालागि साउन विशेष महत्वको महिना भएकाले पनि यो महिना शुरु हुन नपाउंदै महिलाहरु रंगीन हुन थालेका हुन् । महिलाको हातमा असारको अन्तिम सातादेखि नै हरियो तथा पहेंलो चुरा खन्किन थालेको छ ।

विभिन्न सामाजिक सञ्जालमा महिलाले हरियो, पहेंलो चुरा तथा मेहेन्दी लगाएको फोटो सार्वजनिक गरिरहेका छन् । महिलाको आस्थालाई सम्मान गर्दै विभिन्न कार्यालयले पनि आफ्ना महिला कर्मचारीलाई हरियो चुरा तथा नङपालिस दिने गरेको पाइन्छ । चुरासँगै विवाहित नारीले पोते र हातमा मेहेन्दी लगाएको पाइन्छ । यस्तो प्रचलन पछिल्लो समय झनै बढेर गएको छ ।

यसको धार्मिक आस्था बुझेरभन्दा पनि फेसनका निम्ति लगाउने युवतीहरु पनि त्यत्तिकै छन् । अहिले स–साना बालिका, युवती, अधबैंसे नारी हुन् या बृद्ध महिला, यतिबेला सबैको नाडीमा काँचका हरिया चुरा सजिएको देख्न पाइन्छ । साउन लागे लगत्तै हिन्दु महिलामा छुट्टै उत्साह र उमंग छाएको छ । निषेधाज्ञा खुकुलो भएसँगै रातो, पहेंलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहल–पहल देखिन्छ ।

पछिल्ला वर्षमा साना बालिका र किशोरीमा समेत मेहेन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढ्दो छ । धेरैले यसलाई फेसनका रुपमा लगाएका छन् भने कतिले धार्मिक महत्व बुझेर विश्वासमा यसो गरेका छन् । यद्यपि ! साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतिकको रुपमा लिइन्छ ।

साउनमा चुरापोते र कपडासँगै हातभरि मेहन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने विश्वास गर्नेहरु पनि उत्तिकै छन् । त्यसैले साउनमा मेहन्दी हरियो चुरा पोतेको क्रेज कतिसम्म छ भने घरायसी महिलामात्र नभएर कार्यालयमा काम गर्नेदेखि ड्युटीमा खटिएका महिला प्रहरीले समेत हरियो चुरा पोते लगाउदै आएका छन् ।

धार्मिक विश्वास
धार्मिक मान्यता अनुसार साउन शिवको आराधना गर्ने महिनाका रुपमा लिइन्छ । पौराणिककालमा पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर ‘भगवान शिव’ लाई प्राप्त गरेको धार्मिक विश्वासको आधारमा महिलाहरुले यसलाई बढी महत्वको रुपमा लिने गर्छन् । साथै साउनमा हरियो पहिरदाँ शिव खुसी हुने धार्मिक विश्वास छ ।

हरियो रङ सौभाग्यको प्रतिक हो । श्रावण हरियालीको महिना भएकाले प्रकृतिसँग आफूलाई जोड्न र नजिकिन पनि हरियो लगाउने गरिन्छ । शास्त्रमा प्रकृतिलाई ईश्वरको रुपमा लिइन्छ । हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पुजा गरेमा आफू र पतिको आयू समेत बढने धार्मिक विश्वास रहि आएको छ ।

Translate »