आयुर्वेद औषधि व्यवसायी संघद्वारा वृक्षारोपण

हरिशयनी एकादशीको अवसर पारेर २५० औषधिजन्य जडिबुटीका विरुवा रोपियो

स्काई न्यूज / साउन ५, सुर्खेत ।
नेपाल आयुर्वेद औषधि व्यवसायी संघ कर्णाली प्रदेशले हरिशयनी एकादशीको अवसर पारेर वृक्षारोपण गरेको छ । संघको आयोजनामा मंगलबार प्रदेश आयुर्वेद औषधालय सुर्खेतको प्रांगणमा २ सय ५० बटा जडिबुटीका विरुवा रोपण गरिएको हो ।

वृक्षारोपण कार्यक्रममा प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले हरिशयनी एकादशी अर्थात तुलसी रोप्ने दिवसको महत्व नेपाली समुदायमा युगौंयुगदेखि चलि आईरहेको बताए । उनले मानव जीवनमा खासगरी हिन्दुहरुका लागि तुलसीको महत्व धेरै रहेको जिकिर गरे ।

‘नेपाल आयुर्वेद औषधि व्यवसायी संघले औषधालयको प्रांगणमा औषधियुक्त वोटविरुवा लगाएर पुण्य कार्य गरेको छ,’ उनले भने, ‘आयुर्वेदिक औषधिको लागि कच्चा पदार्थको रुपमा संघले रोपेका जटीबुटी विरुवाको औषधालयले संरक्षण तथा सम्वद्र्धन गर्नेछ ।’

 

औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले जडिबुटीजन्य बोटविरुवा मानव जीवनका लागि मात्र नभई सम्पूर्ण जीवजगतका लागि समेत महत्वपूर्ण रहेको जनाए । उनले नेपाल आयुर्वेद औषधि व्यवसायीहरुले औषधालयसँग शुरुदेखि नै कुनै–न–कुनै रुपमा सहयोग तथा समन्वय गर्दै आईरहेको प्रति धन्यवाद व्यक्त गरे ।

वृक्षारोपण कार्यक्रममा नेपाल आयुर्वेद व्यवसायी संघका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज कविन्द्रप्रसाद अधिकारीले औषधालयसँग हातेमालो गरेर आयुर्वेद तथा जडिबुटीको विकासका लागि अघि बढ्ने प्रतिवद्धता जनाए । संघका कर्णाली प्रदेश अध्यक्ष पूर्णप्रसाद आचार्यले हरिशयनी एकादशी दिवसको अवसर पारेर औषधालयलाई ३ हजार मूल्यका १० वटा ठूला गमलासहित तुलसी, लेमनग्रास, पिप्ला, पिपल, पत्थरचट्टा, भुईअमला, ध्युकुमारी, स्टवेरी, जुम्ली धुपी, दियार, अमला, हर्रो, बर्रो, तेजपात, गुलमोरलगायतका विरुवा संघले प्रदान गरेको जानकारी दिए ।

वृक्षारोपण कार्यक्रममा सुर्खेत उपत्यका खानेपानी संस्थाका अध्यक्ष कुलमणि देवकोटा, औषधालयका कविराज निरीक्षक श्रीराम आचार्य, संघ जिल्ला अध्यक्षलगायत विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Translate »