संसदबाटै देउवाले पाए विश्वासको मत

साउन ३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । सर्वोच्च अदालतको फैसलामा टेकेर प्रधानमन्त्री बनेको एक साता नबित्दै प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा १६५, विपक्षमा ८३ र तटस्थमा १ जना सांसद उभिएका थिए । मतदानमा २३९ जना सांसद उपस्थित रहेका थिए ।

प्रतिनिधि सभाको आइतबारको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिएका हुन् । प्रधानमन्त्री देउवाको पक्षमा एमालेका केही सांसदसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मत दिएका छन् ।

एमालेका माधव नेपाल पक्षका केही सांसद तटस्थ बसेका थिए भने माधव नेपालसहित केही एमालेले नेताले देउवालाई मत दिएका थिए । केपी ओली पक्षकै सांसदहरू प्रेस आले र किसान श्रेष्ठ लगायतले देउवाको पक्षमा मतदान गरेका थिए ।

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

पाँच दलीय गठबन्धन  काँग्रेस, माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको नेपाल पक्षको समर्थन पाएपछि देउवाले पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिने निर्णय गरेका थिए ।

विश्वासको मत पाएसँगै देउवाले अब  प्रतिनिधिसभाको पूरा कार्यकाल सरकार चलाउने छन् । प्रतिनिधिसभाको कार्यकाल अब करिब डेढ वर्ष बाँकी रहेको छ ।

Translate »