पूजा र आकाशको ‘धर्ती आकाश’लाई दर्शकले किन रुचाए ?

गीतकार तथा संगीतकार अर्जुन पोखरेलले तयार पारेको ‘धर्ती आकाश’ बोलको गीत सार्वजनिक भएपछि गीतकार राजेन्द्र थापाले प्रशंसा गर्दै लेखे–‘यो गीतमा दुर्गाको फिलिङ्स एक्सप्रेसनले सुन्दासुन्दै यही गीतको बिषयमा गीत बन्यो । जुन दुर्गालाई उपहार दिनेछु, बिहेमा गोडा धुवाको रुपमा । सुन्दर छ ओभर अल यो अर्जुन र दुर्गा टिमको ।’ राजेन्द्र थापाको यी हरफले पनि गीतको सफलता अनुमान गर्न सकिन्छ ।

सार्वजनिक भएको ४१ घन्टामा नै नेपालको युटुब ट्रेन्डिङको नम्बर १ स्थान ओगट्न सफल यो गीत र यसको भिडियोले प्रशंसा बटुलिरहेको छ । गीतमा गायिका दुर्गा खरेल र गायक रोशन अधिकारीको स्वर छ । यो गीतलाई अर्जुनले एक जोडीको मिलन, प्रेम र विछोडको कथामा लेखेका छन् । गीतका हरेक शब्दमा प्रेम गर्ने जोडीको भावना मिसिएको छ ।

भिडियोको निर्देशन विधान कार्कीले गरेका हुन् । विधानले गीतको भाव अनुसार भिडियोमा उतारेका छन् । विधानको निर्देशन अब्बल छ । जसले अहिले प्रशंसा पाइरहेको छ ।

भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको अभिनय छ । यो जोडीले अभिनय गरेका थुप्रै गीतहरु असफल भए । तर, यसपटक पूजा र आकाशले उत्कृष्ट गीत रोजेका छन् । अभियनमा दुबै जना सफल छन् । यसकारण पनि यो भिडियोले दर्शकको मन जितिरहेको छ ।

सार्वजनिक भएको ४२ घन्टामा नै ९ लाख भ्यूज बटुलेको यो गीतलाई दर्शकले लामो समयसम्म रुचाउने निश्चित छ । भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ । (अनलाइनखबर)

Translate »