अछामको जयगढ – मेल्लेख ग्रामीण सडक अवरुद्ध, धारा सैनका ४ घर जोखिममा

टेकराज भण्डारी/अछाम। अछामको जयगढ – मेल्लेख जोड्ने ग्रामीण सडक अवरुद्ध भएको छ । लगातारको वर्षाको कारण सडकको ठाउँ ठाउँमा पहिरो र ढुङ्गा खस्दा ग्रामीण सडक अवरुद्ध बनेको हो ।

उक्त सडक मर्मतका लागि गाउँपालिका बेखर हुँदा स्थानीयलाई सास्ती भएको स्थानीयको गुनासो छ । बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ धारासैन लगायत मेल्लेख गाउँपालिकाको नन्देगडा लगायतका ठाउँमा सडकको अवस्था निकै बिग्रिएको छ । सडक वर्षाका कारण बिग्रेको त छदै छ तर ग्रामीण सडकको छेउछाउमा उम्रिएका ठुला झार पातले उक्त सडकमा गाडीको त के कुरा मान्छे हिँड्न समेत सकस भएको छ ।

सडककै कारण बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ धारा सैनका ४ वटा घर समेत पहिरोका उच्च जोखिममा परेका छन् । जयगढ मेल्लेख जोड्ने ग्रामीण सडक निर्माण गरिएको लामो समय भइसक्दा समेत सडक गुणस्तरीय निर्माण नगर्दा अहिले घर नै पहिरोको उच्च जोखिममा परेका हुन् ।

ग्रामीण सडक मर्मत र पहिरोको उच्च जोखिममा परेका घरको पुनर्स्थापना तथा व्यवस्थापन गर्न बान्नीगढी गाउँपालिकाले छिट्टै पहल चाल्नु पर्ने पीडितको भनाइ छ । सडकको मर्मत तथा जोखिममा रहेका घरको व्यवस्थापनका लागि पहल गरिने गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले बताए।

Translate »