कोभिड – १९ को महामारीबाट अर्थतन्त्रलाई माथि उठाउन पहल गर्छु : अर्थमन्त्री शर्मा

असार ३०, काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कोभिड – १९ को महामारीबाट अर्थतन्त्रलाई माथि उठाउन र व्यापार व्यवसाय क्षेत्रमा देखिएको संकटमा महल्म लगाउने आफुले पहल गर्ने बताएका छन्।

बुधवार  विहान अर्थ मन्त्रालयमा गई  पदभार ग्रहण गरेका उनले उपस्थित कर्मचारीहरुलाई सम्बोधन गर्दै आफुले अनुहार, जात, झण्डा केही नहेरी काममा केन्द्रित हुने बताएका हुन् ।

अर्थमन्त्री शर्माले आर्थिक सवलिकरण, अर्थतन्त्रलाई पुनरुत्थान र पुनर्जीवित गर्नका लागि मार्गचित्र तयार पार्न र आर्थिक विकासका क्षेत्रका आयोजनाहरुको प्राथमिकिकरण गर्न पनि कर्मचारीलाई निर्देशन दिएका छन् ।

बढ्दो व्यापार घाटालाई सन्तुलनमा ल्याउनका लागि छुट्टै सुधार कार्यक्रम ल्याउनु आवस्यक रहेकाले त्यसको तयारी गर्न पनि उनले निर्देशन दिएका छन् ।

उनले  आफू अर्थ मन्त्रालयमा आउनुको कारण सहकार्य गर्ने, अर्थतन्त्रको अवस्थालाई बुझ्ने, आफ्नो इच्छा शक्ति र क्षमताअनुसार काम गर्ने, गरिबीको मारमा रहेका जनता, खटिरहेका श्रमिकलाई राहत दिने रहेको पनि बताए ।

मन्त्रालयबाट भइरहेको कामको आफुले निरन्तर अनुगमन, निर्देशन र सहयोग गर्ने भन्दै उनले कर्मचारीबाट समेत यस्तो सहयोगको अपेक्षा गरे ।

Translate »