जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर र अशक्त अपाङ्ग‍ता भएकालाई दिइने

काठमाडौं- कोभ्याक्स फ्यासिलिटी अन्तर्गत अमेरिकाबाट आज मात्र नेपाल ल्याइएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप लगाउन सरकारले प्राथमिकता निर्धारण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक डोज मात्र लगाए पुग्ने उक्त खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाइने भएको छ।

यस्तै, मन्त्रालयले उक्त खोप पूर्ण र अति अशक्त अपाङ्ग‍ता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत खोप दिने निणर्य गरेको छ।

अमेरिकाबाट आज १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको हो।

परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जोन्सनको खोप कहिलेदेखि लगाउन सुरु गर्ने भन्ने निर्णय गर्न बाँकी रहेको बताए।

उनले भने,‘जोन्सनको खोप आज मात्र आइपुगेकोले खोप ढुवानी र अन्य तयारी गर्न बाँकी छ। तर छिटै सुरु गर्छौं। भेरोसेल खोप संचालन भइरहेका प्रदेशमा एकै पटक जोन्सनको खोप लगाउन सुरु गर्दैनौं। भोलिदेखि बागमति, गण्डकी र लुम्बिनी प्रदेशमा भेरोसेल खोप लगाउन सुरु हुन्छ।’(स्वास्थ्यखबर)

Translate »