रेडपाण्डाको छाला र भालुको पित्तसहित बाँकेमा ३ जना पक्राउ

बर्दिया । बाँकेमा एक गेष्ट हाउसबाट संरक्षित रेडपाण्डाको छाला र भालुको पित्तसहित तीनजना पक्राउ परेका छन् ।

बाँके प्रहरीले दाङ घोराही उपमहानगरपालिका -४ का ४९ वर्षीय भक्तबहादुर पुन, ४१ वर्षीय केशव पुन, र २९ वर्षीया रोविन बुढालाई पक्राउ गरेको हो ।

शनिबार साँझ नेपालगंज उपमहानगरपालिका -१ पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसबाट संरक्षित वन्यजन्तुका अंगसहित उनीहरू पक्राउ परेको प्रहरीले बताएको छ ।

प्रहरीले होटलको भुइँतलामा रहेको कोठामा राखेकाे  कालो झोलाभित्र संरक्षित रेडपाण्डा (हाब्रे) को छाला थान १, सोही खाटको सिरानीमुनि प्लाष्टिकभित्र भालुको पित्त ४ वटासमेत बरामद गरेको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले नेपाल प्रेसलाई बताए ।

उक्त गेष्ट हाउसभित्रसंरक्षित वन्यजन्तुका अंग कारोबार भइरहेको सुचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।(नेपाल प्रेस)

Translate »