सुनौलो हजार दिनका आमाहरूलाई करिब १७ लाख र पोषण प्याकेज वितरण

दीपक शर्मा/सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले सुनौलो हजार दिनका आमाहरूलाई करिब १७ लाख र पोषण प्याकेज वितरण गरेको छ ।

गाउँपालिका भित्र रहेको १ हजार ३ सय ९८ गर्भवती तथा दुई वर्षमुनिका बच्चाका आमालाई पोसिलो खानेकुरासहित पौने १७ लाखभन्दा बढी रकम वितरण गरेको हो ।

सुनौलो हजार दिनका आमाहरूलाई पोसिलो खानेकुरा किनेर खानका लागि १६ लाख ७७ हजार ६ सय रुपैयाँ वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

सुनौलो हजार दिनका आमाहरूलाई पौष्टिक खाद्य तत्त्व सहितको झोला पनि वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले बताए ।

बच्चाको ८० प्रतिशत वृद्धि विकास गर्भावस्थादेखि दुई वर्षको बीचमा हुने भएकाले सुनौलो हजार दिनका आमाहरूका लागि सन्तुलित र पौष्टिकतत्व युक्त खानपिनका लागि रकम वितरण गरिएको उनको भनाई छ ।

गाउँपालिकाका ६ वटै वडामा रहेका महिलालाई अण्डा र माछा मासु खानका लागि जनही एक हजार र गेडागुडी खानका लागि जनही दुई सय रुपैयाँ वितरण गरिएको खड्काले बताए ।

पोषणको अभावमा कुपोषण हुनसक्ने भन्दै गाउँपालिकाले आफ्नो गाउँपालिका भित्रका सबै सुनौलो हजार दिनका आमाहरूलाई पोषण प्याकेज उपलब्ध गराएको गाउँपालिका अध्यक्ष भीम बहादुर सेनले बताए ।

सुनौलो हजार दिनमा आमा र बच्चाको स्वास्थ्यमा टेवा पुर्‍याउने गरी योजना निमार्ण गरेर गाउँपालिकाले विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आइरहेको उनको भनाई छ ।

सन्तुलित र पोषणयुक्त खानपिनको अभावमा धेरै बालबालिका कुपोषणको शिकार भइरहेकाले कुपोषणबाट मुक्ति दिलाउन पौष्टिकतत्व युक्त खानपिनमा जोड दिइरहेको उपाध्यक्ष तिला बुढाले बताए ।

Translate »