अछाममा आत्महत्याका घटनामा बढोत्तरी

चालु आर्थिक वर्षमा ४६ घटना, ७ घटनामा आत्महत्या दुरुत्साहन मुद्दा दायर

टेकराज भण्डारी /अछाम ।  अछामको रामारोशन गाउँपालिका वडा नम्बर २ चिलेत्राकी एक महिलाले आत्महत्या गरेको विषयमा माइती पक्षले आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरेका छन् ।

मङ्गलसेन नगरपालिका वडा नम्बर ७ पिपलगाउँ माइतीघर भएकी २५ वर्षीया कौसी लुहार विकले असार २१ गते राती घर नजिकै रुखमा झुन्डिएर आत्महत्या गरेको घटनामा माइती पक्षले आत्महत्या दुरुत्साहन मुद्दा दायर गरेको हो । मृतक कौसीका श्रीमान् नन्दसिंह लुहार विकको नाममा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेको मृतकका बुवा कालु कामीले बताए।

२०७३ सालमा मागी विवाह गरेका कौसी र नन्दसिंहका ३ बर्ष र १० महिनाका २ छोरी छन् ।

मृतकको जिल्ला अस्पताल अछाममा पोष्टमार्टम गरी शव आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जनक बहादुर बोहराले बताए। प्रहरी घटनास्थलमै पुगी आवश्यक प्रक्रिया पुरा गरेर मङ्गलवार राति शव जिल्ला अस्पताल पुर्‍याइएको थियो ।

श्रीमानले पटक पटक हिंसा गर्ने गरेको र यो पटक पनि उसकै कारणले आत्महत्या गरेको भन्दै उजुरी गरेको माइती पक्षले दाबी गरेको छ । उजुरी दर्ता भएको र अदालतबाट पक्राउ आदेश लिई पक्राउ गरेर अनुसन्धान तथा कारबाही अघि बढाइने सूचना अधिकारी प्रहरी निरीक्षक बोहराको भनाई छ । मुद्दा दर्ता भई सरकारवादी मुद्दा भैसकेको र आवश्यक अनुसन्धान अघि बढाई दोषीलाई कानून अनुसार कारबाही गरिने उनले प्रतिबद्धता जनाए।

पहिले मदिरा सेवन तथा कुटपिट गर्ने गरे पनि पछिल्लो समय आफूले त्यस्तो कुनै हिंसा नगरेको श्रीमान् नन्दसिंहको दाबी छ । सधैँ ४ बजे उठ्ने श्रीमती त्यो दिन कतै नदेखेपछि खोजी गर्दा मृत अवस्थामा भेटिएकी उनले बताए।

माइती पक्षले दोषीलाई कारबाही हुनुपर्ने माग राख्दै अस्पताल परिसरमा केही बेर तनावको अवस्था समेत सिर्जना भएको थियो । आफूले छोरी ज्वाइँको घरबार होस् भनेर नगद, लुगाकपडा, बाख्रो, भैँसी समेत दिएको तर हिंसा गर्न नछाडेको बुवा कामीको भनाइ छ ।

अछाम जिल्लामा पछिल्लो समय आत्महत्याका घटना बढ्न थालेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको हालसम्म ४६ वटा आत्महत्याका घटना भएको कार्यालयले जनाएको छ । जसमध्ये २५ घटना महिलाका र २१ घटना पुरुषका रहेको छ । महिलाको २५ आत्महत्याका घटना मध्ये ३ जना १५ बर्ष मुनिका बालिकाको रहेको प्रहरी कार्यालयले जनाएको छ ।

महिला आत्महत्याका घटनामध्ये ७ वटा घटनामा आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । जसमा २ जनालाई १र१ बर्ष तथा १ जनालाई १ महिना कैद सजाय भएको छ ।

गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार २६ वटा आत्महत्याका घटना भएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्षको असार २३ गतेसम्म आत्महत्याका २० वटा बढी घटना भइसकेका छन् ।

मदिराको सेवन गरी घरमा भै(झगडा गर्ने, घरेलु हिंसा, लकडाउनको कारण मानसिक समस्या बढ्ने जस्ता कारणले यस्ता घटना बढी रहेका सरोकारवालाले बताउने गरेका छन् । यसको रोकथामका लागि समुदाय स्तरमै मेलमिलापको वातावरण तयार गर्ने मदिराको सेवन हटाउनु पर्ने, रोजगारीको वातावरण सिर्जना गर्ने लगायतका कार्य गर्नुपर्ने, बाल विवाह नगर्ने तथा महिलाहरू आत्मनिर्भर बन्नुपर्ने यसो भएमा हिंसा तथा आत्महत्याका घटनामा न्यूनीकरण हुने अधिकारकर्मी बताउने गर्दछन् ।

Translate »