ज्याला नपाएपछि मजदुरले टावर बन्द गरिदिए, तीन जिल्लाको फोन अवरुद्ध

जाजरकोट : नेपाल टेलिकमको टावर निर्माण गर्दा मजदुरले ज्याला नपाएको भन्दै नलगाड नगरपालिका –८ गराइलाको टावर बन्द गरेका छन्।

डोल्पा र रुकुम पश्चिमको गोतामकोटको टावरलाइ लिंक दिन यो टावर निर्माण गरिएको थियो। टावर निर्माण गरेको लामो समयसम्म मजदुरलाई ठेकेदारले उपलब्ध नगराएपछि टावर बन्द गर्नुपरेको मजदुर हीरालाल बटालाले बताए।

हप्ता दिनदेखि टावर बन्द गरिँदा नलगाड नगरपालिका, रुकुम पश्चिमको आठबिसकोट र डोल्पाको मुड्केचुलामा रहेका टावरहरू बन्द भएका छन्। मजदुरले रकम नपाएसम्म टावर नखोल्ने अडान लिएका कारण समस्या भएको नेपाल टेलिकम जाजरकोटले बताएको छ।

झण्डै २ लाख रुपैयाँ रकम ठेकेदारले मजदुरलाई दिन बाँकी रहेको पीडितले बताएका छन्।

करिब दुइ वर्ष लगाएर निर्माण गरेको टावर सञ्चालनमा आएको तीन महिना नबित्दै मजदुर आन्दोलित भएर सञ्चार सम्पर्कविच्छेद भएको छ। टावर नहुँदा आर्थिक वर्षको अन्तिममा समस्य भएको डोल्पा मुड्केचुला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले बताए।

मजदुरलाई पटकपटक आग्रह गर्दा पनि टावर नखोल्दा समस्या भएको जाजरकोट नेपाल टेलिकमका प्रमुख गोविन्द अधिकारीले बताए। ठेकेदारको बदमासीले मजदुर मर्कामा परेका उनको भनाइ छ। (थाहा खबर)

Translate »