एमाले कार्यदलको छलफल सकारात्मक

केशव ढुङ्गाना/काठमाडौँ । नेकपा एमाले भित्र देखिएको विवाद समाधान गर्न गठित कार्यदलको बैठकमा पार्टीभित्रको विवाद समाधानबारे विषयगत रुपमा छलफल सुरु भएको छ ।

सिंहदरबारमा बसेको बैठकमा पार्टी भित्र देखिएका विवाद एवं घटनाक्रमका बारेमा विस्तृत, गम्भीर र सकारात्मक रुपमा छलफल भएको र छलफललाई निरन्तरता दिने निर्णय भएको कार्यदल सदस्य सुवास नेम्वाङ्ले जानकारी दिनुभयो ।

एमालेको विवाद समाधानका लागि गठित कार्यदल पुनर्स्थापित भएपछि हिजोदेखि निरन्तर छलफलमा जुटिरहेको छ ।

कार्यदलको हिजोको बैठक विषय प्रवेश नै नगरी सामान्य छलफलमा सीमित रहेको भए पनि आजको बैठकमा विषय प्रवेश गरेको र छलफल सकारात्मक रहेको नेता माधवकुमार नेपालको तर्फबाट कार्यदलमा सहभागी नेता भीम रावलले बताउनुभयो ।

कार्यदलमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट नेताहरू सुवास नेम्वाङ्, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शङ्कर पोखरेल सदस्य हुनुहुन्छ भने नेता माधव नेपालका तर्फबाट नेताहरू भीम रावल, घनश्याम भुषाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे सदस्य हुनुहुन्छ ।

कार्यदलको बैठक भोलि बिहान पुनः बस्ने छ ।

Translate »