सुर्खेत स्थित माता मनकामना क्लिनिक सिल

‘अबैद्य क्लिनिकले भ्रामक प्रचार गरि विरामी ठगि गरेको पाईयो’

स्काई न्यूज /असार २१, सुर्खेत ।
प्रदेश आयुर्वेद औषधालयले माता मनकामना आयुर्वेद क्लिनिक सिल गरेको छ । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमै दर्ता विना नै अबैधरुमा सञ्चालित माता मनकामना आयुर्वेद क्लिनिकलाई जिल्ला प्रशासन कार्यालयको पहलमा सोमबार प्रदेश आयुर्वेद औषधालयले सिल गरेको हो ।

औषधालयको निरीक्षण टोलीले गरेको अनुगमनमा न्यूनतम् मापदण्ड नै पुरा नगरि क्लिनिक सञ्चालन गरेको पाईएपछि सिल गरिएको औषधालयका डाक्टर शंकरप्रसाद रिजालले जानकारी दिए । उनले निसन्तालाई सन्तान बनाउने, यौन शक्ति बढाउने, फिस्टुला, पायल्स, हाइड्रोसिलजस्ता रोगको ग्यारेण्टीका साथ उपचार गर्ने बहानामा महँगो शुल्क असुलेर सर्बसाधारण विरामी ठग्दै आएको गुनासोको आधारमा छापा मारी सोमबार दिउँसो क्लिनिक सिल गरिएको बताए ।

‘सर्वसधारणलाई आयुर्वेद उपचारको नाममा गैरकानुनी ठगी गरेको उजुरी परेपछि क्लिनिकको अनुगमन गरिएको हो,’ उनले भने, ‘निसन्तानलाई सन्तान बनाउने, यौन कमजोरी दुर गराउने, यौन सम्बन्धि सबै रोगको उपचार र मानसिक समस्या हटाउने जस्ता भ्रामक प्रचार गरि डाक्टर विना नै कविराजले क्लिनिक सञ्चालन गरिरहेको पाईयो ।’

उनले अनमुगमनमा क्लिननिकबाट उपभोग मिति, औषधिको मात्रा र मूल्य उल्लेख नगरेको, लेभल नभएको, म्याद नाघेका औषधि, दर्ता विनाकै यौनबर्धक औषधि, दर्ता विनाकै प्रयोगशाला सञ्चालन गरेको पाईएको बताए । ‘माता मनकामना क्लिनिकले सामान्य शैयासमेत नराखी उपचार गर्ने गरेको र विरामीसँग चर्को शुल्क असुल्ने गरेको पाइएको छ,’ उनले भने, ‘हामीले ७ दिनभित्र क्लिनिक तथा ल्याव दर्ताको प्रमाणपत्र ल्याउनुका साथै क्लिनिक सञ्चालनका लागि सामान्य मापदण्ड पुरा गरेको पाईएपछि मात्र पुनः नियमपूर्वक सञ्चालन गर्न दिन्छौं ।’

उनले क्लिनिकमा महँगो शुल्क लिने तर, न्यूनतम् र आधारभूत सुविधासमेत नदिने गरेको पाइएपछि छापा मार्दा म्याद नाघेका औषधि फेला परेको जनाए । औषधालयका कविराज निरीक्षक श्रीराम आचार्यले महँगो रकम असुले पनि पैसा लिएको रसिद भने नदिने गरेको पाइएको बताए ।

‘पटक–पटक सर्वसाधारणबाट गुनासो आएकाले ठगी हो कि भन्न आशंकामा अनुगमन गर्दा क्लिनिक नै मापदण्ड विपरित रहेको पाईयो,’ उनले भने, ‘क्लिनिकमा छापा मार्दा न्यूनतम् सुविधा नपाइएको र अन्य गैरकानूनी गतिबिधि गरेको भेटियो ।’ उनले छापा मार्दा विरामी जाँचकक्षमा रहेको क्लिनिक र अप्ररेशन कक्ष एउटै भएको, ल्यावमा अत्याधिक फोहोर रहेको, विभिन्न शंकास्पद औषधि फेला परेको जनाए ।

उनका अनुसार ‘विमारी निको नभए सबै पैसा फिर्ता’ गर्ने प्रचार गर्दै एक विरामीसँग ३०/३५ हजारसम्म असुल्ने गरेको पाईएको छ । कतिपय विरामी निको नभए पनि केही नभन्ने तर, बजारकै एक महिलाले भने ग्यारेण्टी गरेर उपचार गर्न गएकोमा ३५ हजार पैसा बुझाए पनि निको नभएपछि अनुगमन समिति गुहारेकी थिईन् ।

उनीसँगै दर्जन बढीको गुनासो आएपछि अनुगमन समितिले बाध्य भएर क्लिनिकमा छापा मारेको स्थानीयको भनाई छ । ग्यारेन्टी निको पार्ने भन्दै पैसा बुझाएर उपचार गर्दा निको नभएपछि गुनासो गर्न जाँदा उल्टै हप्कीदप्की दिने गरेको विरामीले बताएका छन् । उपचारको नाममा गैरप्रकृतिको अप्रेशन गर्ने क्लिनिकमा डाक्टर हुँ भन्दै कविराज राजेश भट्टराई आफैले उपचार गर्ने गर्दा अत्याधिक पीडा हुने गरेको विरामीले बताएका थिए ।

त्यस्तै वीरेन्द्रनगर बजारमै भारतीय बाबा रामदेवका नाममा सञ्चालित पतञ्जली सेवा केन्द्रले समेत मापदण्ड पुरा नगरि आयुर्वेद औषधिजन्य वस्तु विक्री वितरण गर्दै आईरहेको पाईएको छ । उपभोक्तालाई भ्रममा पारेर पसलको प्यान नम्वर ‘वालाराम स्टोर’ राखिएपनि पसलको बोर्ड चाही पतञ्जली सेवा केन्द्रका नामबाट रहेको पाईएको अनुगमन समितिले बताएको छ ।

अनुगमनमा औषधि, खाद्यान्न तथा कस्मेटिक सामाग्री समेत एकै ठाउँ राखी विक्री वितरण गर्ने गरेको पाईएको जिल्ला प्रशासन कार्यालयका नायव सु्ब्बा शेरबहादुर तिरुवाले बताए । उनले औषधि विक्री वितरणका लागि अनुमति नलिएको पाईएकाले सात दिन भित्र दर्ता प्रमाण देखाउन अनुगमन टोलीले निर्देशन दिएको जनाए । अनुगमन समितिमा प्रदेश आयुर्वेद औषधालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च र पत्रकारहरुको सहभागिता रहेको थियो ।

Translate »