सुजिता भण्डारी मृत भेटिएकाे घटनाकाे निष्पक्ष छानबिन माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध

चितवन – मृत भेटिएकी सुजिता भण्डारीका सम्बन्धमा सत्यतथ्य छानबिनको माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

उनीहरुले प्रहरीले ल्याउँदै गरेको शव समेत रोकेर राजमार्ग अवरुद्ध गरेका हुन्। राप्ती नगरपालिका–३ झुरझुरेमा बिहान १०ः१५ बजेबाट सडक अवरुद्ध गरिएको हो।

असार ११ देखि सम्पर्कविहीन भएकी राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको शव आइतबार साँझ घरबाट करिब चार किलोमिटर पर ब्रह्मस्थानी सामुदायिक वनको झाडीभित्र भेटिएको थियो।

स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गमा सवारी तेस्र्याएर विरोध प्रदर्शन गरेका छन्। फरेन्सिक चिकित्सकसहितको टोलीले आज बिहान घटनास्थलको निरीक्षण गरेपछि शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याउन लागेको एम्बुलेन्सलाई पनि स्थानीयवासीले अवरोध गरेका छन्। (रासस)

Translate »