एकीकृत भन्सार जाँचचौकी नेपालगञ्जमा धमाधम

सिराज खान/असार २१,नेपालगञ्ज । निषेधाज्ञाबीच पनि यहाँस्थित नेपाल–भारत सीमामा एकीकृत भन्सार जाँचचौकी (आईसीपी)को निर्माण धमाधम छ ।
भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिका–१६, जयसपुरमा जाँचचौकी निर्माण भइरहेको हो ।

सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इन्जिनियर होमनाथ भुसालका अनुसार दुई वर्षभित्र निर्माण सक्ने सम्झौतासाथ छ महिनाअघि काम सुरु भएको हो । भारतीय निर्माण कम्पनी राजदीप विल्डकन प्रालिलाई ८८ बिघा जग्गा हस्तान्तरण गर्दै काम सुरु भएको थियो ।
उहाँले निषेधाज्ञाको समयमा पनि दिनरात काम भइरहेकाले आगामी डेढ वर्षमा निर्माण कार्य पूरा हुने सम्भावना रहेको बताए । भारततर्फ भवन निर्माणको काम ३५ प्रतिशत सम्पन्न र सडक बनाउने काम पनि तीव्र गतिमा भइरहेको उनले बताए ।
जाँचचौकी निर्माणका लागि नेपाल सरकारले हस्तान्तरण गरेको ८८ बिघा जग्गामध्ये ६७ बिघा गोदामलगायतका संरचना बन्ने र बाँकी २१ बिघा बाटोका लागि छुट्याइएको भुसालले बताए ।
आईसीपी निर्माणको निरीक्षण गरिरहेको राइटस् कन्सल्टेन्टका प्रमुख अजय अग्रवालले हालसम्मको कामको गति हेर्दा डेढ वर्षभित्र सबै निर्माण पूरा गरेर नेपाल सरकारलाई हस्तान्तरण गरिने अवस्था देखिएको बताए ।
भन्सार कार्यालय, पशु क्वारेन्टाइन, प्लान्ट क्वारेन्टाइन, अध्यायगमन कार्यालयलगायत सबै कार्यालय एकै ठाउँमा रहने एकीकृत भन्सार जाँचचौकी निर्माणका लागि राजदीप विल्डकन प्रालिले दुई अर्ब ३५ करोड रुपियाँँमा ठेक्का लिएको छ ।
सोहीअन्तर्गत चौलिका चोकदेखि आईसीपीसम्मको २२ सय मिटर पक्की कालोपत्रे फोरलेन सडक पनि निर्माण भइरहेको छ ।
आईसीपी निर्माणका लागि गत कात्तिक २७ गते भारतका उद्योग वाणिज्यमन्त्री पीयूष गोयल र नेपालका तत्कालीन सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले संयुक्त रूपमा भिडियो कन्फ्रेन्समार्फत शिलान्यास गरेका थिए ।
जग्गा अधिग्रहण गरिएको १० वर्षपछि पूर्वाधार निर्माण कार्य सुरु गरिएको हो । भारततर्फ पनि १४२ एकड जमिनमा आईसीपी निर्माण कार्य भइरहेको छ ।(गोरखापत्र अनलाइन)

Translate »