बाँकेमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या फेरि बढ्दै

गुरमुरत यादव /बाँके । बाँकेमा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या ५० नाघेको छ ।

पछिल्ला दिनहरूमा जिल्लामा सक्रिय संक्रमित सङ्ख्या ५० जनाभन्दा कम रहेको थियो ।

पछिल्लो २४ घण्टामा शनिवार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ५० नाघेको हो ।

जिल्लामा शनिवारसम्म २३ महिला र ३२ पुरुष गरेर सक्रिय संक्रमित ५५ जना रहेको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ ।

बाँकेमा बाहिरी जिल्लाका सक्रिय सङ्क्रमितको सङ्ख्या भने १६ जना रहेको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

तीमध्ये १५ महिला र १६ पुरुष गरेर ३१ जना अस्पतालमा उपचाररत रहेका छन् । १६ महिला र २४ पुरुष गरेर ४० जना भने होम आइसोलेसनमा रहेका थिए ।

बाँकेका बाहिरी जिल्ला र जिल्लाभित्रका गरेर ७५ जना सक्रिय संक्रमित रहेको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जारी गरेको तथ्याङ्कमा उल्लेख रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा बाँकेका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जिल्लाका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा ४ महिला र ५ पुरुषमा संक्रमण देखिएको हो ।

तीन प्रयोगशालामा १ सय ७४ नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको थियो । तीमध्ये ९ जना मात्र बाँकेका रहेको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ४ महिला र ४ पुरुष गरेर ८ जना तथा मेडिकल कलेज कोहलपुरमा गरिएको परीक्षणमा १ पुरुषमा कोरोना पुष्टि भएको थियो ।

योसँगै बाँकेमा कुल कोरोना सङ्क्रमितको १७ हजार ४ सय ६९ पुगेको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका फोकल पर्सन ओलीले जानकारी दिए । उनका अनुसार तीमध्ये ७ हजार ४ सय ४२ महिला र १० हजार २७ पुरुष रहेका छन् ।

शनिवार बाँकेका प्रयोगशालामा गरिएको परीक्षणमा ५ महिला र ३ पुरुष गरेर बाहिरी जिल्लाका ८ जनामा कोरोना पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा ९ जना नयाँ संक्रमित थपिँदा ३ जना कोरोना जितेर घर फर्किएका थिए । १ महिला र २ पुरुष गरेर थप ३ जना कोरोना जितेर डिस्चार्ज भएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका फोकल पर्सन ओलीले बताए ।

उनका अनुसार बाँकेका योसँगै कोरोना जितेर घर फर्किनेहरूको सङ्ख्या १७ हजार १ सय ७ रहेको छ । कोरोना जितेर घर फर्किनेहरूमा ७ हजार २ सय ९१ महिला र ९ हजार ८ सय १६ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा समेत बाँकेमा मृत्युदर भने शून्य नै रहेको थियो । जिल्ला भित्र र बाहिरी जिल्लाबाट उपचारका लागि आएका कुनै पनि सङ्क्रमितको मृत्यु नभएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

‘उपचाररत संक्रमितहरु समेत पछिल्ला दिनहरूमा कोरोना संक्रमित कोरोना जितेर घर फर्किने क्रम बढेको छ’ उनले भने, ‘जिल्लामा पछिल्ला दिनहरूमा मृत्युदर शून्य देखिन्छ ।’

अहिलेसम्म बाँकेमा जिल्ला भित्र र बाहिरी जिल्लाका गरेर ६ सय ७३ जना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ ।

Translate »