फरार अपराधी धमाधम पक्राउ

सुर्खेत प्रहरीको सक्रियता बढ्दै

स्काई न्यूज /असार १८, सुर्खेत ।
सुर्खेतमा प्रहरीको सक्रियता बढेसँगै फरार अपराधी धमाधम पक्राउ पर्न थालेका छन् । पछिल्लो समय प्रहरीले फरार अपराधी माथि  निगरानी बढाउन थालेपछि धमाधमा पक्राउ पर्न थालेका हुन् ।

प्रहरीले ज्यान मार्ने उद्योग मुद्धामा फरार रहेका दैलेखको दुल्लु नगरपालिका–६ छिउडी पुसाकोटका ३४ वर्षीय प्रदीप खड्कालाई पक्राउ गरेको छ ।  सुर्खेत प्रहरीको विशेष टोलीले शुक्रबार वीरेन्द्रनगर बजारबाट फरार प्रतिवादी खड्कालाई पक्राउ गरेको हो । अदालतले खड्कालाई २०६८ साल भदौ २८ गते पाँच बर्ष कैद फैसला सुनाएको थियो ।

चेक अनादर मुद्धामा सुर्खेतको वीरेन्द्रनगर–४, कालागाउँ निवासी ४६ वर्षीय धर्मराज गिरीलाई समेत प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विहीबार वीरेन्द्रनगरबाट फरार गिरीलाई पक्राउ गरि अदालतमा पेश गरेको हो ।

अदालतले चेक अनादर मुद्धामा २०७७ असार १० गते गिरी ४२ हजार ५ सय रुपैयाँ जरिवाना गरेको थियो । उक्त रकम नतिरेपछि गिरीलाई अदालतको आदेशमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले मानब बेचबिखन ओसार पसार मुद्दामा अदालतबाट नौ वर्ष कैद सजाय तोकिएका वीरेन्द्रनगर–२, बस्ने ४० वर्षीय भीमप्रसाद न्यौपानेलाई पनि पक्राउ गरेको छ ।

दुई वर्षदेखि फरार न्यौपानेलाई प्रहरीको विशेष टोलीले बुधबार वीरेन्द्रनगरबाट पक्राउ गरि अदालतमा बुझाएको हो । अदालतले न्यौपानेलाई २०७६ पुस २ गते नौ वर्ष २ महिना १३ दिन कैद सजायसँगै २५ हजार जरिवाना फैलाई गरेको थियो ।

शान्ति सुरक्षा अमन चयन कायम गराउन फरार अपराधीलाई पक्राउ गर्ने अभियान नै सञ्चालन गरिएको सुर्खेतका प्रहरी उपरीक्षक पदमबहादुर विष्टले वताए । ‘अदालतबाट कैद सजाय तोकिएकालाई पक्राउ गर्नु प्रहरीको पहिलो प्राथामिकता परेको काम हो,’ उनले भने, ‘यसले जिल्ला शान्ति सुरक्षा खलल हुनबाट रोक्न मद्दत पुगेको छ ।’

सुरक्षालाई प्रथामिकतामा राखेर शुरु गरेको अभियानले फरार अपराधी पक्राउ, लागु औषध, महिला हिंसा र जघन्य अपराध नियन्त्रण गर्न प्रहरी सफल भएको एसपी विष्टले दाबी गरे । उनका अनुसार शान्ति सुरक्षा तथा अमन चयन कायम गर्न प्रहरीको सक्रियतासँगै नागरिक जवाफदेहिता समेत अपरिहार्य हुन्छ ।

Translate »