सुर्खेतबाट ३७ यात्रुले काठमाडौं उडान गरे

कोरोना संक्रमण चेन ब्रेक

स्काई न्यूज /असार १८, सुर्खेत ।
दोस्रो चरणको कोभिड–१९ को संक्रमण चेन ब्रेक गर्न वैशाख १४ गतेदेखि अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान ७० औं दिनपछि शुक्रबारदेखि सञ्चालन भएको छ ।

नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानका लागि चारवटा वायुसेवाको तालिका स्विकृत गर्दै बिहान साढे ६ बजेबाट शुरु भई बेलुकी ६ बजेसम्मका लागि उनीहरुले उडान भरेका छन् । सुर्खेतबाट भने बुद्ध एयरको एउटा मात्रै उडान छ ।

त्यसमा शुक्रबार सुर्खेतबाट काठमाडौंका लागि ३७ जना यात्रुले उडान गरेका छन । शुक्रबार नै काठमाडौबाट ३६ जना यात्रुले सुर्खेतका लागि उडान गरेको बुद्ध एयर सुर्खेतका स्टेसन म्यानेजर नरबहादुर बस्नेतले जानकारी दिए । विमानस्थल स्रोतका अनुसार सुर्खेत र नेपालगन्ज विमानस्थलबाट साना जहाजले गर्ने कर्णाली तथा सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगका लागि उडान शुरु हुँदैछ ।

दुर्गम भेगमा उडान गर्ने सिता, तारा र समिट एयरले अनुमति माग गरिसकेको निगमले जनाएको छ । यात्रुको माग अनुसार अहिले स्विकृत उडान तालिकालाई विश्लेषण गरी फेरबल गरिने निगमको भनाइ छ ।

बुद्ध एयरलाई दैनिक ३१, यतिलाई १५, श्रीएयर लायन्सलाई १० र सौर्य एयर लायन्सलाई ३ वटा नियमित उडानको अनुमति दिइएको छ । त्यही अनुसार पहिलो चरणमा यी चारवटा वायुसेवाले नेपालगन्जका लागि मात्रै सात र धनगढीका लागि चारवटा उडान भरेका छन् ।

Translate »