तलब नपाएपछि गाउँपालिकामा शिक्षकको तालाबन्दी

टेकराज भण्डारी /अछाम । अछामको रामारोशन गाउँपालिकामा तलब नपाएका शिक्षकहरूद्वारा तालाबन्दी गरिएको छ ।

बाल शिक्षक संर्घष समिति रामारोशन गाउँपालिकाको नेतृत्वमा गाउँपालिकाका कार्यालय र शिक्षा विकास शाखामा ताला लगाइएको हो ।

बाल विकास केन्द्रमा अध्यापन गराउने शिक्षकहरूले पाउने तलब गाउँपालिकाले नदिने भनेपछि गाउँपालिकामा ताला लगाइएको बाल शिक्षक संर्घष समितिका अध्यक्ष ललिता खत्रीले जानकारी दिए ।

बाल विकास केन्द्रका शिक्षकलाई पालिकाले ७ हजार तलब दिनु पर्ने केन्द्र सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । तर रामारोशन गाउँपालिकाले भने रकम नभएको भन्दै बाल विकास केन्द्रमा अध्यापन गराइरहेका शिक्षकलाई तलब नदिने बताइरहेको छ ।

केन्द्र सरकारले बाल विकास केन्द्रका शिक्षकहरूको तलब पालिकाले दिनुपर्ने ७ हजार गरेर १५ पुर्‍याएको छ ।

लगातारको माग र छलफलपछि पनि गाउँपालिकाले दिनु पर्ने तलब नदिएपछि बाध्य भएर तालाबन्दी गरिएको बाल शिक्षक संर्घष समितिका अध्यक्ष खत्रीले बताए।

यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले गाउँपालिका चरम आर्थिक सङ्कटमा रहेकाले तत्काल शिक्षकको समस्या समाधान गर्न नसकिने बताए ।

गाउँपालिकाका विकास निर्माणका योजनामा समेत भुक्तानी गर्न बाँकी रहेको र विषयगत शाखा सञ्चालनमा पनि आर्थिक अभाव भइरहेकाले उनीहरूको माग सम्बोधन गर्न गाउँ सभा र आफूहरू गम्भीर रहेको प्रतिक्रिया दिए ।

Translate »