सल्यानमा रासायनिक मलको अभाव

बुद्धिमान पुन/ सल्यान । सल्यानमा रासायनिक मलको अभाव भएको छ । जिल्लाभर धमाधम बर्खे बाली लगाउन शुरू भएको बेला रासायनिक मलको अभाव भएको हो । धान र मकैमा मल हाल्ने बेला भइसक्दा समेत आवश्यकता अनुसार नपाइएको गुनासो किसानहरूको छ ।

धान रोप्ने सिजनमै मल नपाउँदा समस्या भएको छत्रेश्वरी गाउँपालिका–६ का किसान हेमलाल बोहराले बताए । ‘किसानको माग धेरै आएको छ, गरिज्युला कृषि सरकारीले मात्रै यसपटक करिब २ सय बोरा मल खपत गर्न सक्छ, तर यहाँ मल छैन,’ उनले भने ‘एक बोरा मल ४/५ जना किसानले बाँडेर लिनुपर्ने बाध्यता छ ।’

शारदा नगरपालिका–४ साहुटोलमा रहेको सुनखानी कृषि सहकारीका व्यवस्थापक यगेन्द्रबहादुर बस्नेतले मल नपाउँदा किसान निराश भएर फर्किनुपरेको बताए । ‘धान र मकैलाई अहिले नै अहिले युरिया मलको आवश्यकता छ,’ उनले भने, ‘हामीले आपूर्ति गर्न सकेका छैनौं ।’ पछिल्लो समय जिल्लाका किसानले रासायनिक मलको अभाव खेप्दै आएका छन् । विगतमा प्रांगारिक मल प्रयोग गर्दै आएका किसानको आकर्षण रासायनिक मलमा बढ्न थालेको छ ।

जिल्लाभर बर्खे सिजनमा मात्रै करिब ४० हजार बोरा मलको आवश्यकता पर्दछ । तर जिल्लामा मलको कम आपूर्ति हुँदा समस्या भएको साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड सल्यान शाखाले बताएको छ । चालू आर्थिक वर्षका लागि सल्यानमा ६९ हजार ४ सय बोरा मलको कोटा हो । तर कोटाको आधाभन्दा पनि कम मल आपूर्ति भएको छ ।

कर्पोरेसनका जिल्ला शाखा प्रमुख प्रवीणजंग शाहले यस वर्ष जिल्लामा १९ हजार ७ सय ३० बोरा युरिया र ८ हजार बोरा डीएपी मल आपूर्ति भएको बताए । कर्पोरेसनमा ५० बोरा युरिया, १ सय ३० बोरा पोटास र ४ सय ९० बोरा डीएपी मौज्दाज छ । ‘दैनिक किसान युरिया मलका लागि आउनुहुन्छ, हामीसँग मल छैन, सिजनमै किसानले मल नपाउँदा समस्या भएको छ,’ शाहले भने ।

जिल्लाभर ७ हजार ७८ हेक्टर क्षेत्रफलमा धानखेती र १९ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा मकैखेती हुँदै आएको छ । पर्याप्त मात्रामा मल उपलब्ध नहुँदा खेती कसरी गर्ने भन्ने चिन्ता किसानमा देखिएको छ ।

Translate »