साउन १ गतेदेखि परीक्षणकालीन सवारी अनुमतिपत्र

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा पास गरेका चालकलाई साउन १ गतेदेखि परीक्षणकालीन अनुमतिपत्र दिने भएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले लाइसेन्स परीक्षा पास गरेपछि १ वर्षको परीक्षणकालीन लाइसेन्स दिनुपर्ने व्यवस्था गरेको छ । विभागले ऐन बनेको २९ वर्षपछि उक्त व्यवस्था गर्न लागेको हो । विभागले गत वैशाख पहिलो साता नै जेठ १ गतेदेखि नै परीक्षणकालीन लाइसेन्स दिने निर्णय गरेर त्यसअनुसार तयारी गरे पनि निषेधाज्ञाका कारण जेठबाट उक्त व्यवस्था लागू गर्न सकेको थिएन ।

‘चालकको सहजताका लागि ऐनअनुसार प्रयोगात्मक लाइसेन्स दिन लागेका हौं,’ विभागका महानिर्देशक नवराज घिमिरेले बताए । उनका अनुसार परीक्षणकालीन लाइसेन्सको अवधि १ वर्ष हुनेमा यस अवधिमा पाँचपटकसम्म कारबाहीमा परे फेरि शुरूदेखि परीक्षा दिनुपर्ने हुन्छ । परीक्षणकालीन लाइसेन्स नक्कली नबनोस् भनेर यसमा क्यूआर कोर्ड राखिएको छ । त्यसलाई सजिलै ट्राफिकले जाँच गर्न सक्नेछन् ।

विभागले हालसम्म ट्रायल दिँदा ट्राफिक प्रहरीले सिटी फुकेर निर्णय गर्दै आएकोमा यसलाई पनि वैज्ञानिक बनाउने निर्णय गरेको छ । विभागका महानिर्देशक घिमिरेका अनुसार ट्रायल परीक्षाको जाँच मोबाइल एपमार्फत गर्न लागिएको हो । ‘पाँच चरणमा मोबाइल एपमार्फत चालकले गर्ने गल्तीको जाँच गरिनेछ,’ उनले भने, ‘ती पाँच चरणअनुसार नम्बर मापन गरिनेमा गम्भीर त्रुटिमा एपले नै चालकलाई अघि जान दिँदैन ।’

म्यानुअल प्रणाली हटाएर प्रविधिबाट ट्रायल जाँच गर्दा चालकको सही जाँच हुने र त्रुटि हेर्दा गलत निर्णय हुनसक्ने सम्भावना हट्ने विश्वास विभागको छ । यसरी प्रयोगात्मक परीक्षा हुँदा अब सयमा ७० नम्बर मात्रै पाए पनि पास गरिने जानकारी घिमिरेले दिएका छन् । यसअघि एउटा गल्ती भएमा पनि परीक्षार्थीलाई अनुत्तीर्ण गर्ने गरिएको थियो । (आर्थिक अभियान)

Translate »