८९ % जनताको पहुँचमा पुग्यो इन्टरनेट सेवा

असार १६, काठमाडौं । नेपालमा ८९ प्रतिशत जनसंख्यामा इन्टरनेट सेवाको पहुँच पुुगेको पाइएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/ ७८ को नौ महीना (गत साउनदेखि चैत मसान्तसम्म) को तथ्याङ्कअनुसार नेपालमा ८८ दशमलव ९३ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा पुगेको हो ।

प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कुल जनसङ्ख्या २ करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ ।

प्राधिकरणको तथ्याङ्कअनुसार चैत महीनासम्म २ करोड ६८ लाख ८२ हजारभन्दा बढीकोे पहुँचमा इन्टरनेट सेवा पुगेको छ । गत फागुनको तुलनामा चैतमा ५ लाख २६ हजार बढी प्रयोगकर्ता थपिएका छन् । गत फागुनमा २ करोड ६३ लाख ५६ हजार बढी रहेका थिए ।

उक्त तथ्याङ्कअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । चैतसम्म मोबाइल इन्टरनेटको हिस्सा ६५ दशमलव ३९ प्रतिशत छ । १ करोड १७ लाख ६० हजार बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ । त्यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ९३ लाख ३५ हजार र एनसेलको २४ लाख २५ हजार रहेको बताइएको छ ।

फोरजीका प्रयोगकर्ता ७८ लाख ७१ हजार ५५५ पुगेका छन् । नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । तीन कम्पनीमध्येमा सबैभन्दा धेरै ग्राहक एनसेलका रहेका छन् । नौ महीनामा एनसेल कम्पनीका फोरजीका ग्राहक ५० लाख १७ हजार १७० पुगेका छन् । एनसेलमा एक महीनामा १ लाख ६० हजार ४२८ फोरजी ग्राहक थपिएका छन् । गत फागुनमा फोरजीका ग्राहक ४८ लाख ५६ हजार ७४२ रहेका थिए ।

सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड( नेपाल टेलिकम) ले ४७ हजार ३५३ फोरजी प्रयोगकर्ता थपेको छ । फागुनमा टेलिकमसँग २५ लाख ८९ हजार २९४ रहेकामा बढेर २६ लाख ३६ हजार ६४७ पु¥याइएको प्राधिकरणले बताएको छ ।

यसैगरी स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता २ लाख १७ हजार ७३८५ पुगेका छन् । गत फागुनको तुलनामा चैतमा ग्राहक सङ्ख्यामा ५ हजारभन्दा बढीले कमी आएको छ । स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक रहेका छन् ।

फिक्स ब्रोडब्यान्डको हिस्सा २२ दशमलव ७८ प्रतिशत रहेको छ । यसमा एडीएसएलका ८ लाख ७ हजार र एफटीटीएच इन्टरनेट ५  लाख १५ हजार बढी रहेका छन् ।  रासस

Translate »