जनकपुर जयनगर ब्रोडगेज रेल असार भित्रमा सञ्चालन गर्ने तयारी

अजय कुमार झा /जनकपुरधाम । नेपालको एक मात्र जनकपुर जयनगर ब्रोडगेज रेल सेवा यही असार महिना भित्रमा सञ्चालन गर्ने तयारी भइरहेको छ ।

कोरोना महामारीका कारणले रेलका दुई वटा इन्जिन तथा डब्बा खरिद गरेको एक वर्ष बित्न लाग्दा सञ्चालनमा आउन सकेको छैन । रेल सञ्चालनका लागि सबै तयारी पुरा भए पनि चालक दल भारतबाट नै झिकाउनुपर्ने बाध्यता भएका कारणले रेल सञ्चालनमा ढिलाइ भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए।

भारतको जयनगर देखि नेपालको कुर्थासम्म सञ्चालनका लागि सबै तयारी पुरा भएको नेपाल रेल विभागका जनकपुरधामस्थित साइट कार्यालयका इन्जिनियर विनोद ओझाले जानकारी दिनुभयो । जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म करिब ७४ किलोमिटरमा ब्रोडगेज रेल सञ्चालनको तयारी गरिएको छ ।

भारत सरकारको करिब १० अर्बको लागतमा रेल सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारको निर्माण करिब अन्तिम चरणमा पुगेको छ । रेल सञ्चालनका लागि रेलको लिक, ट्र्याक, रेल्वे स्टेसन, कर्मचारी आवास सहितको पूर्वाधारको निर्माण भएको छ ।

ब्रोडगेज रेल सञ्चालनका लागि जनशक्ति व्यवस्थापनका लागि प्रयास भए पनि करारमा भर्ना गर्नमा लोकसेवा आयोगले रोक लगाएका कारणले कर्मचारी भर्ना नभए पनि जनकपुर रेल्वेका पुराना कर्मचारी तथा यातायात विभागका केही कर्मचारीहरूलाई केही दिनको प्रशिक्षण दिने काम भारतीय रेल्वेका कर्मचारीले गरेका थिए ।

नेपाली झण्डाअंकित रहेको रेलको कलर निक्कै आकर्षक रहेको छ । रेल्वेमा विभिन्न श्रेणीका गरेर एक्कै पटकमा १ हजार २ सय यात्री सजिलो गरी यात्रा गर्न मिल्ने गरी सिटको व्यवस्थापन भएको पनि रेल्वे कम्पनीले जानकारी दिएको छ । (रेडियो नेपाल)

Translate »