वाणिज्य विभागद्वारा सुर्खेतका ७ व्यवसायी फर्मलाई जरिवाना

स्काई न्यूज / असार १३, सुर्खेत ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग काठमाडौंले सुर्खेतका ७ वटा व्यावसायिक फर्मलाई जरिवाना गराएको छ । विभागले (आज) आइतबार सुर्खेतमा कानून विपरित व्यवसायी क्रियाकलाप गर्ने छिन्चु र वीरेन्द्रनगरका ७ वटा व्यवसायी फर्मलाई २ लाख ३० हजार रुपैयाँ जरिवाना गराएको हो ।

नियम विपरित सञ्चालित व्यवसायी फर्मले उपभोक्ताको अधिकारलाई ध्यान नै नदिएर सञ्चालन गरिरहेको पाईएपछि विभागले ती व्यवसायी फर्मलाई जरिवाना गराएको छ ।

विभागले अनुगमनमा खरिद विक्री विल नराखेको छिन्चुको बराल ईन्टरप्राईजेजलाई ५० हजार, कमसल तथा म्याद नाघेका वस्तु विक्री गर्ने स्याङजा किराना पसललाई २० हजार, लक्ष्मी खाद्य स्टोरलाई २० हजार, सरिता कोल्ड स्टोर्सलाई २० हजारसँगै वीरेन्द्रनगरको कर्णाली मललाई चिन निर्मित मिठाईएको लेवलमा नेपाली भाषामा मूल्य, उत्पादन मिति, उपभोग्य मिति उल्लेख नगरेको पाईएपछि ५० हजार र दर्ता विना नै सञ्चालनमा रहेको रेखा पोखरेलको पसललाई ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।

अनुगमनका क्रममा ती व्यावसायिक फर्महरुले कानुन बिपरित व्यापारिक क्रियाकलाप गरेकोले पाईएपछि पहिलो पटकको हकमा २० हजारदेखि ५० हजारसम्म जरिवाना गरिएको विभागका अनुगमन अधिकृत ईश्वरीप्रसाद ढकालले बताए । उनले निषेधाज्ञाका बेला कर्णालीमा कमसल सामाग्रीको विक्री वितरण बढी हुने गरेको गुनासो आएपछि प्रदेशको मुख्य नाका सुर्खेतमा नमूना अनुगमन गरिएको जनाए ।

उनका अनुसार अनुगमन गरिएका ११ मध्ये ४ वटा फर्मबाट करिब एक लाख रुपैयाँ मूल्य बराबरको खान अयोग्य तथा म्याद नाघेका खाद्यन्न तथा मिठाईजन्य वस्तु नष्ट गरिएको छ । वीरेन्द्रनगरका दुई पेट्रोलपम्म र छिन्चुका दुई वटा खाद्यन्न पसललाई व्यवसाय सुधार गर्न निर्देशन समेत दिईएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका प्रमुख कृष्णप्रसाद पौडेलले बताए ।

उनले लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको समेत बजार अनुगमनको जिम्मेवारी पाएको वाणिज्य कार्यालयले सबै जिल्लाहरुमा अनुगमनलाई तीव्रता दिई रहेको  जनाए । ‘अुगमनका क्रममा मापदण्ड विपरित सञ्चालित व्यवसायी फर्मलाई जरिवाना वापतको रकम ७ दिनभित्र बुझाउन निर्देशन दिएका छौं,’ उनले भने, ‘तोकिएको अवधि भित्र जरिवाना वापतको रकम दाखिला नगरे रकम असुल उपर गरि उनीहरुको फर्म सदाका लागि बन्द गरिनेछ ।’

उनले अनुगमनमा वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय सुर्खेत, उद्योग, उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेश, खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय, नापतौल तथा गुणस्तर कार्यालय, नेपाल आयल निगम, जिल्ला प्रहरी कार्यालय, उपभोक्ताकर्मी र पत्रकारहरुको सहभागिता रहेको जनाए ।

यता सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले विभिन्न निकाय तथा संघसंस्थाको समन्वय तथा सहकार्यमा जिल्लाभरी बजार अनुगमनलाई निरन्तरता दिईने बताए ।

उनले कोरोना भाइरसका कारण आफ्ना ग्राहकहरुको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी महामारीको समयमा उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनु पर्ने सुरक्षा मापदण्डको बारेमा व्यवसायीहरुलाई सचेत हुन आग्रह गरे ।

बजार अनुगमनको अवस्थालाई मध्यनजर गर्दै जिल्ला बजार अनुगमन समितिले ग्रामिण क्षेत्रका बजारहरुमा समेत छड्के चेकजाँच कार्यलाई जारी राख्ने उनको भनाइ थियो ।

Translate »