सालकोटमा असार १५ गतेदेखि विशेषज्ञसहितको ‘मोवाइल शिविर’ सञ्चालन गरिँदै


स्काई न्यूज /असार ११, सुर्खेत ।
कर्णाली प्रदेश सरकारले पश्चिम सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमार्फत विशेषज्ञ सेवा दिने उद्देश्यले ‘मोवाइल शिविर’ सञ्चालन गर्ने भएको छ । प्रदेश राजधानीको ठाउँ भएपनि पश्चिम सुर्खेत स्वास्थ्य क्षेत्रमा पछाडी छ । सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले असार १५ गतेबाट विशेषज्ञ सेवासहितको मोवाइल शिविर सञ्चालन गरिने जनाए ।

‘सामान्य विरामी हुँदा पनि पश्चिम सुर्खेतका नागरिकहरु सदरमुकाम वीरेन्द्रनगर जानुपर्ने बाध्यता छ,’ मन्त्री बुढाक्षेत्रीले भने, ‘पश्चिमका नागरिकलाई घर आँगनमै सेवा दिने उद्देश्यले असार १५ बाट मोवाइल शिविर सञ्चालन गर्दैछौं ।’ वर्षातको समय भएकाले असार र साउन महिनामा दुई पटक कर्णाली प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकहरुले सेवा दिनेछन् । भदौबाट साप्ताहिक सेवा सुरु गरिने उनले बताए ।

सालकोट स्वास्थ्य चौकी चौकुने, बराहताल गाउँपालिकाका साथै पञ्चपुरी नगरपालिकाको केन्द्र हो । सालकोटमा विशेषज्ञ सेवा सुरु भएपछि छिमेकका पश्चिम सुर्खेतका नागरिकले समेत सहज स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ । उनले सालकोटलाई पश्चिमको ‘स्वास्थ्य हव’ का रुपमा विकास गरिने बताए ।

‘त्यसको सुरुवात यहीं १५ गतेबाट हुँदैछ,’ उनले भने, ‘असार र साउनमा महिनाको दुई पटक र भदौबाट साप्ताहिक विशेषज्ञ सेवा पु¥याइने छ ।’ उनले सालकोटबाटै पश्चिम क्षेत्रका नागरिकहरुले बालरोग, स्त्रीरोग, नाक, कान र घाँटी, फिजिसियनलगायतका सेवाहरु पाउने जनाए । सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले पश्चिम सुर्खेतका नागरिकहरुमा स्वास्थ्य सेवाको पहुँच पु¥याउनका लागि सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताए ।

‘अहिले सामान्य विरामी हुँदा पनि यो क्षेत्रका नागरिकहरु सदरमुकाम वीरेन्दनगर र कैलाली जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘मन्त्रालयले पश्चिम सुर्खेतका जनतालाई सहज सेवा पु¥याउन सालकोट स्वास्थ्य केन्द्रलाई प्राथमिकतामा राखेको छ ।’ उनले तत्लो इकाईबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने नीति सरकारले लिएको बताए ।

प्राथमिक स्वास्थ्य केन्द्र सालकोटका प्रमुख डा. जीतेन्द्र यादवले सामान्य शल्यक्रिया पनि नहुँदा यो क्षेत्रका गरिव जनताले सदरमुकाम वीरेन्द्रनगर र देशका अन्य स्वास्थ्य संस्थामा पुग्नुपर्ने बाध्यता रहेको बताए । उनले १५ शैंयाको अस्पतालको रुपमा स्तरबृद्धि भएपनि जनशक्ति र स्वास्थ्य उपकरण नहुँदा सो अनुसारको सेवा दिन नसकिएको बताए ।

जनशक्ति अभावमा पोष्टमार्टम भवन भएपनि प्रयोगमा आउन नसकेको बताए । पोष्टमार्टमकै लागि पनि सदरमुकाम वीरेन्द्रनगर जानुपर्ने बाध्यता यो क्षेत्रका नागरिकमा छ ।

Translate »