सल्यानका किसानलाई उन्नत जातका भैँसी वितरण

दीपक शर्मा/ सल्यान । जिल्लाको बागचौर नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न उन्नत जातका भैँसी वितरण गरेको छ ।
दूध पकेट क्षेत्र विस्तार गर्न र  किसानको आय स्तरमा वृद्धि गर्ने उद्देश्यका साथ अनुदानमा उन्नत जातको भैँसी वितरण गरेको हो ।

नगरपालिकाको वडा न ९ धामीढुंगा र हरिपुरका ४२ घरधुरीलाई ४२ वटा उन्नत जातका भैँसी वितरण गरिएको मेयर लोकमान बुढाथोकीले बताए । दूध पकेट क्षेत्र बनाउने गरी भैँसी पालन पकेट क्षेत्र निमार्ण गर्न पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान र नगरपालिकाको समन्वयमा उन्नत जातका भैँसी वितरण गरिएको उनले बताए ।

कृषि र पशुपालनमा नगरका किसानलाई व्यावसायिक बनाउन र किसानको आय स्तरमा वृद्धि गर्ने उद्देश्य सहित यो कार्यक्रमको सुरुवात गरिएको हो । पशुपालनमा प्राथमिकता दिन भैँसीलाई सुत्केरी भत्ता र पाडा पाडीको बिमा समेत गर्दै आइरहेको बुढाथोकीले बताए ।

जिल्लालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ नगरपालिकाको २५ लाख र पशु सेवा कार्यालयको २० लाखको लागतमा भैँसी, ५० वटा मिल्क केन, घाँस वितरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिलप्रसाद उपाध्यायले बताए ।

उक्त बजेटबाट पानी आपूर्तिका लागि ५० घरधुरीलाई पानी ट्याङ्की ,भकारो सुधारको काम समेत सम्पन्न भएको उनको भनाई छ । पछिल्लो समय जिल्लामा व्यावसायिक भैँसी पालन तर्फ किसानहरूको आकर्षण बढ्दै जान थालेको छ ।

Translate »