प्रदेश २ का नवनियुक्त मन्त्री : १२ दिन बित्दा पनि पाएनन् मन्त्रालय भवन र कर्मचारी

धनुषा — प्रदेश २ का नवनियुक्त महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह यति बेला गृहजिल्ला सर्लाहीमा सम्मान थाप्न व्यस्त छन् । तर उनको मन्त्रालय, प्रशासनिक भवन र कर्मचारीको अझै अत्तोपत्तो छैन ।नेपाली कांग्रेसबाट नियुक्त भएका सिंह र भौतिक पूर्वाधार विकास, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्माले १२ दिनअघि शपथ लिएका थिए । कांग्रेस नेतृत्वलाई आर्थिक प्रलोभनमा पारेर मन्त्री पद पाएको आरोप लागेका उनीहरूले हतार–हतार अँध्यारैमा मोबाइल बालेर शपथ लिएका हुन् । उक्त घटनाको चर्को आलोचना पनि भयो ।

शपथलगत्तै पदभार ग्रहण गरेका मन्त्री सिंहको प्रदेश २ को प्रशासनिक केन्द्र ‘मधेस भवन’मा न मन्त्रालय छ न त कर्मचारी । त्यहाँ उनको मन्त्रालयको बोर्डसम्म राखिएको छैन । उनले सामाजिक विकास राज्यमन्त्रीको निजी सचिवालयमा कार्यभार ग्रहण गरेका थिए । त्यहीँको एउटा कोठामा सिंहको नाम लेखिएको प्लेटसँगै मन्त्रालयको नाम कागजमा प्रिन्ट गरेर टाँसिएको छ । सामाजिक विकास मन्त्रालय टुक्य्राएर महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालय बनाइएको थियो । तर मन्त्रालय फुटाइएसँगै अधिकार सीमित भएपछि कर्मचारी नयाँ मन्त्रालयमा आउन चाहेका छैनन् ।

खेलकुदमन्त्रीको पदभार ग्रहण मधेस भवनभित्रै गराइए पनि मन्त्रालयका लागि भवन खोजी भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यमप्रसाद भुसालले बताए । मन्त्रीको क्वार्टर र मन्त्रालय व्यवस्थापनका लागि अर्थ मन्त्रालयबाट ८३ लाख बजेट निकासा गरिएको उनले जानकारी दिए ।

प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय विभाजन गरी खानेपानी तथा ऊर्जा विकास मन्त्रालय बनाएको छ । उक्त मन्त्रालय हाललाई साबिकको भौतिक पूर्वाधार राज्यन्त्रीको कार्यकक्षमा राखिएको छ । त्यहीँ भौतिक पूर्वाधारको भन्दा केही सानो बनाएर खानेपानी तथा ऊर्जा विकास मन्त्रालयको बोर्ड लगाइएको छ । कर्मचारी र सचिव नतोकिएका कारण ऊर्जामन्त्री ओमप्रकाश शर्मा पनि मन्त्रालयमा बस्दैनन् ।

जनशक्ति अभाव र सचिवको सरुवाले काम गर्न नसकेको भन्दै संघीय सरकारविरुद्ध बारम्बार खनिने मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालय विभाजन गरी मन्त्री नियुक्त गरे पनि मन्त्रालय भवन, कर्मचारी व्यवस्थापन गर्न सकेका छैनन् । यसले गर्दा नवनियुक्त मन्त्री झन्डावाला गाडीमै सीमित भएका छन् ।

नयाँ मन्त्रालयको सचिव संघीय सरकारले पठाउने भएकाले टुंगो नलागेको र साबिकको महाशाखालाई मन्त्रालयको कामकाजको जिम्मेवारी तोकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव भुसालले बताए । उनका अनुसार मन्त्रीको निवासका लागि बाहिर घर खोजी भइरहेको छ ।

मन्त्रालय विभाजन गरी मन्त्री नियुक्त भएको १२ दिन बितिसक्दा समेत प्रदेशको वेबसाइटमा विवरण राखिएको छैन । भौतिक पूर्वाधार विकास मन्त्रालयको विवरण सच्याएर मन्त्री रामसरोज यादवको फोटो राखिए पनि नयाँ मन्त्रालयको विवरण वेबसाइटमा छैन ।(कान्तिपुर)

Translate »