राउटेका लागि एकीकृत नीति ल्याउँदै कर्णाली सरकार

स्काई न्यूज / असार ७, सुर्खेत ।

कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायका लागि एकीकृत नीति ल्याउने तयारी गरेको छ । जंगलमा फिरन्ते जीवन विताउने राउटे समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्दै उनीहरुको सामाजिकीकरणका लागि सामाजिक विकास मन्त्रालयले राउटे नीति बनाउने तयारी गरेको हो ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले लोपोन्मुख राउटे समुदायको संरक्षण राज्यको दायित्व भएको बताए । ‘एकै ठाउँमा नबस्ने, घुमन्ते समुदाय भएकाले राउटेको संरक्षणका लागि छुट्टै नीति आवश्यक देखियो,’ सामाजिक विकास मन्त्री बुढाक्षेत्रीले भने, ‘साउनदेखि नीति अनुसार काम हुन्छ ।’

उनले राउटे समुदायको संस्कार र संस्कृतिमाथि बाह्य समुदायको हस्तक्षेप बढेको बताउँदै बस्ती प्रवेशमा निषेध, राहतको एकद्वार प्रणाली, सुरक्षाको प्रवन्ध, छाना नाना र छानाको व्यवस्थापनलगायतका विषयहरु नीतिभित्र समेटिन्छन्,’ उनले भने, ‘राउटेका आफ्नै मूल्य, मान्यता र संस्कृतिको संरक्षण गर्दै उनीहरुको सामाजिकीकरणमा मन्त्रालयले काम गर्नेछ ।’

पछिल्लो समय राउटे समुदायका दुई युवतीमाथि बाह्य समुदायका व्यक्तिहरुले गरेको बलात्कार घटनाले बस्तीको सुरक्षा र बाह्य व्यक्तिहरुको प्रवेश निषेध आवश्यक रहेको महशुस भएको उनले बताए ।

मन्त्री बुढाक्षेत्रीले राउटे समुदायको संख्या घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले बालबालिकामा रहेको कुपोषण न्यूनिकरण गर्न र उनीहरुको खानपानमा ध्यान दिन सरोकारवाला निकायहरुलाई निर्देशन दिए । सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले लोपोन्मुख समुदाय कर्णालीको पहिचान भएकाले उनीहरुको संरक्षण आवश्यक रहेको बताए ।

‘नेपालको एकमात्रै फिरन्ते समुदायको संरक्षण राज्यको दायित्व हो,’ उनले भने, ‘परम्परागत संस्कृति, संस्कार र मान्यतालाई आत्मसाथ गर्दै राउटे सम्वन्धी नीति तयार गरिरहेका छौं ।’ उनले राउटे नीतिमा समेट्नुपर्ने विषयमा बारेमा उनीहरुसँग छलफल पनि गरिने बताए ।

प्रमुख जिल्ला अधिकारी छवी रिजालले राउटे समुदायका युवतीमाथि भएको घटनापछि बस्ती शील गरिएपछि धेरै विकृतिहरुको अन्त्य भएको बताए । ‘प्रशासनले अहिले बस्ती प्रवेशमा रोक लगाएको छ, राहत वितरणलाई एकद्वारा प्रर्णाली लागू गरिएको छ,’ उनले भने, ‘यतिले पनि बस्तीमा सकारात्मक प्रभाव परेको छ ।’ उनले युट्युव, फेसबुक, टिकटकलगायत बनाउन जानेहरुका कारण पनि राउटे समुदायको संस्कृति, परम्परा र मान्यतामाथि खेलवाड भइरहेको बताए ।

गुराँस गाउँपालिकाका उपाध्यक्ष दीपा विसीले कर्णाली प्रदेश सरकारले राउटेको अभिभावकत्व लिनुपर्ने बताइन् । उनले गाउँपालिकाले अस्थायी नागरिकको परिचयपत्र दिएको बताउँदै अव राउटे समुदायलाई प्रक्रिया पु¥याएर नागरिकता वितरण गरिनुपर्ने आवश्यकता औल्याइन् । जंगलमा फिरन्ते जीवन विताउने यो समुदाय अहिले सुर्खेतको गुर्भाकोट नगरपालिकामा बसोबास गरिरहेको छ ।

Translate »