अविरल वर्षाले कर्णालीका ४ सय घरपरिवारको बिचल्ली

सागर परियार/जुम्ला । अविरल वर्षाका कारण घर भत्किएपछि कर्णालीका ४ सयभन्दा बढी घर परिवार विस्थापित भएका छन् ।

जसमध्ये जुम्लाका १६ घरका १ सय १७ जना, कालिकोटमा २७ घरका १ सय ३७ जना र दैलेखका ३७ घरका १ सय ५० जना गरी ४ सय बढी घरपरिवार विस्थापित भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

जुम्लाकै तातोपानी गाउँपालिका ६ नम्बर वडामा पनि वर्षाले करिब एक दर्जन बढी घरहरू भत्किएर घरपरिवारको बिचल्ली भएको वडाध्यक्ष विशाल खड्काले बताए।

राहत तथा उद्धारको काम अगाडी बढाउन विस्थापित परिवारले माग गरिरहेका छन् । विस्थापित सबै नागरिक आफन्तको घरमा बसिरहेका छन् ।

कालिकोटका केही स्थानीय तहबाट पहिरोको क्षतिबारे विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक भूपेन्द्र शाहीले बताए ।

दैलेखको आठवीस नगरपालिका ४, छेपारीका ३७ घरका १ सय ५० जना वर्षापछि आएको बाढी पहिरोका कारण विस्थापित भएका छन् । पहिरो खस्ने जोखिमका कारण उनीहरूलाई सुरक्षित स्थानमा सारिएको दैलेखका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।
मनसुन अझै केही दिन सक्रिय हुने भएकोले सचेत रहन प्रशासनले आग्रह गरेको छ । उता हिमा गाउँपालिकाका अध्यक्ष रज बहादुर शाहीले घर भत्किएकाहरूको स्थलगत अनुगमन गरी राहत र उद्धारको कार्य अघि बढाइने बताए ।

Translate »