फेला परे जलजला पाटन क्षेत्रमा बेपत्ता भएका सात जना

जाजरकोट । हावाहुरी, पानीका कारण जुम्ला र जाजरकोटको सिमाना कुशे गाउँपालिकाको जलजला पाटन क्षेत्रमा बेपत्ता भएका सात जना फेला परेका छन् ।

गाईबस्तु चराउन गई हराइरहेका कुशे गाउँपालिका–८ र ९ औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीया धनसरा खड्का र वडा नं ९ का ४० वर्षीय कृष्ण रोकाय शुक्रवार फेला परेका हुन्।

उनीहरू भोक र चिसोका कारण बिरामी परेको अवस्थामा भेटिएको जाजरकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुकुमार थापाले बताए।

भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा पुगेका उनीहरू हावाहुरी र पानीका कारण बेपत्ता भएका थिए। सोही घटनामा परी बच्न सफल ४४ वर्षीय भक्तबहादुर रोकाय, १० वर्षीय ईश्वर रोकाय, १४ वर्षीय दुर्गा रोकाय र ५५ वर्षीया गङ्गा खड्का सम्पर्कमा आएर प्रहरीलाई खबर गरेका थिए।

हावा हुरी र वर्षाका कारण जलजला पाटनमा २२ गाई, १० भैँसी र ५० बाख्रा मरेको प्रहरीले बताएको छ। बुधवार बिहानमात्र घटनाका विषयमा जानकारी आएपछि प्रहरी र स्थानीयवासीलाई घटनास्थलतर्फ पठाएको थियो। घटनास्थल समुद्र सहतदेखि चार हजार ८०० मिटर उचाइमा छ।

भारी वर्षात् र हावाहुरीका कारण पाटनमा पुगेर बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको थियो । प्रतिकूल मौसम, हाइ अल्टीच्युट, कठिन भूगोल, टेलिफोन सुविधा नहुनुलगायत कारण बेपत्ताको खोजी गर्न चुनौती थपिरहेको थियो । (रेडियो नेपाल)

Translate »