कर्णालीमा ३६ अर्ब ६६ करोडको बजेट


स्काई न्यूज /असार १, सुर्खेत ।
कर्णाली प्रदेश सभाको कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि ३६ अर्ब ६६ करोड रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सभामा मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बजेट प्रस्तुत गरेका छन् । उनले पूजिगत तर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार, चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार र वित्तियतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार रुपैयाँ बजेट विनियोजना गरेको जानकारी दिए ।

चालू आर्थिक वर्षको तुलनामा करिब ३ अर्ब बढीको बजेट प्रदेश सरकारले ल्याएको छ । आगामी आर्थिक वर्षको लागि कोभिड–१९ लगायत महामारीबाट कर्णालीलाई सुरक्षित राख्न अत्यावश्यक औषधी, स्वास्थ्य सामग्री एवं उपकरणको उपलव्धता, अत्यावश्यक खाद्यान्नको भण्डारण, खाद्य सुरक्षा, रोजगारी सिर्जनालाई बजेटको प्राथमिकतामा राखिएको छ ।

बजेटको स्रोतमा सबैभन्दा धेरै रकम चालु आर्थिक वर्षको बाँकी १२ अर्ब ९२ करोड १६ लाख ८१ हजार रुपैयाँलाई राखिएको छ । संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानवापतको १० अर्ब १४ करोड २१ लाख, राजस्व बाँडफाँटको ७ अर्ब ४४ करोड ७७ लाख, सशर्त अनुदान ३ अर्ब ९८ करोड ७७ लाख, समपूरक अनुदान ८१ करोड ३५ लाख र विशेष अनुदान ६१ करोड ३० लाख रुपैयाँ प्राप्त हुने बजेट वक्तव्यमा उल्लेख छ ।

कर्णालीले आगामी आर्थिक वर्ष आन्तरिक राजस्वबाट ६० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । महत्वाकांक्षी र नयाँ योजना समावेश नगरिएको बजेटमा पुरानै योजना तथा कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि ५३ करोड ९३ लाख बजेट विनियोजन गरेको छ ।

प्रदेश राजधानी सुर्खेतमा उच्च क्षमताको अक्सिजन प्लान्टसँगै प्रदेशका अन्य जिल्लाहरुमा मिनी अक्सिजन स्थापना गरिनेछ । कोराना महामारी नियन्त्रणमा खटिने सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई तलबको शतप्रतिशत जोखिम भत्ता, सबै नागरिकलाई कोरानाबिरुद्धको खोप लगाउने लगायतका योजनाहरु बजेटमा समावेश छन् । प्रदेशका मुख्य नाका सल्यानको कपुरकोट र सुर्खेतको बबईमा सेन्सरसहितको हेल्थडेस्क राख्ने बजेटमा उल्लेख छ । बजेटमा उत्कष्ट किसानलाई सुनको हलो अंकित तक्माले सम्मान गर्ने उल्लेख छ ।

 

Translate »