एसओएसद्वारा स्वास्थ्य उपकरण सहयोग

पाँच शैयाको बालबालिका वार्ड स्थापनाका लागि पहल शुरु

स्काई न्यूज /जेठ ३१, सुर्खेत ।
एसओएस बालग्राम सुर्खेतले वीरेन्द्रनगर कोभिड अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको छ । बालग्रामले ३५ औं अन्तर्राष्ट्रिय एसओएस दिवसको अवसर पारेर कोभिड–१९, संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले वीरेन्द्रनगर कोभिड अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको हो ।

सहयोग सामाग्री सोमबार वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, वीपना–७, नम्वर वडाअध्यक्ष धुब्रकुमार चपाई लगायतको उपस्थितिमा एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्दकुमार गिरीले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । सहयोग सामाग्री ग्रहण गर्दै वीनपाका प्रमुख सुवेदीले एसओएस बालग्रामले वीरेन्द्रनगर कोभिड अस्पतालमा बालमैत्री वार्ड स्थापनाका लागि गरेको पहल सराहनिय भएको बताए ।

उनले वीरेन्द्रनगर कोभिड अस्पतालमा तत्कालै कम्तिमा ५ शैयाको बालमैत्री वार्ड स्थापना गर्ने प्रतिवद्धता जनाए ।

यता निर्देशक गिरीले एसओएस परिवार सवलीकरण कार्यक्रम अन्तर्गत करिब २ लाख मूल्य बराबरको स्वास्थ्य उपकरण सहयोग गरिएको जनाए । ‘निकट भविष्यमै कोभिड–१९, को तेस्रो लहर आउन सक्ने र उक्त लहरमा बालबालिकाहरु बढी जोखिममा पर्ने जनस्वास्थ्य विज्ञहरुको सुझाव छ,’ उनले भने, ‘विज्ञहरुको सुझावलाई आधार मानेर वीरेन्द्रनगर कोभिड अस्पतालमा बालमैत्री वार्ड स्थापना गर्नका लागि दुई वटा मनिटर सहयोग गरेका हौं ।’

उनले कोभिड–१९, महामारीले बालबालिकामा पर्ने सक्ने जोखिमलाई मध्यनजर गर्दै अस्पतालमा कम्तिमा ५ शैयाको बालमैत्री वार्ड स्थापना गर्नु सुझाव समेत दिएको बताए । आगामी दिनहरुमा पनि बालबालिकाको संरक्षणमा विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुसँग समन्वय गरि अस्पताललाई थप सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

उनका अनुसार एसओएस बालग्रामका संस्थापक प्रोफेसर डाक्टर हर्मन माइनरको स्मितिमा विभिन्न कार्यक्रम गरि अन्तर्राष्ट्रिय एसओएस दिवस मनाउने चलन रहेको छ ।

एसओएस बालग्राम विगत ३५ वर्षदेखि कर्णाली प्रदेशसँगै लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ लगायतका जिल्लाका अभिभावकको संरक्षण गुमाएका तथा गुमाउने जोखिममा रहेका बालबालिकालाई विभिन्न कार्यक्रम मार्फत संरक्षण गर्दै आईरहेको छ । हाल एसओएस बालग्राम सुर्खेतले ५ सय ३० जना बालबालिकाको निःशुल्क स्वास्थ्य, शिक्षासँगै संरक्षण गर्दै आईरहेको निर्देशक गिरीले जानकारी दिए ।

Translate »