कर्णालीका मुख्यमन्त्रीलाई एमाले संसदीय दलको १९ बुँदे मागपत्र

सुर्खेत । नेकपा एमाले संसदीय दल, कर्णाली प्रदेशले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग बजेटमा आफूहरूका विभिन्न कार्यक्रम समेट्न माग गरेको छ । आर्थिक वर्ष २०७८/२०७९ का लागि प्रदेशसभामा बजेट प्रस्तुत हुनु केही दिनमात्रै बाँकी रहँदा एमालेले आफ्ना कार्यक्रम पार्न मुख्यमन्त्रीसँग १९ बुँदे माग गरेको हो । आइतवार एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वमा मुख्यमन्त्री कार्यालय पुगेर पेश गरिएको मागपत्रमा प्रदेश रंगशाला निर्माणदेखि कोरोना महामारी नियन्त्रणका लागि बजेट विनियोजन गर्नुपर्ने माग उल्लेख छ ।

एमालेले दशौंं राष्ट्रिय खेलकुदलाई ध्यानमा राख्दै प्रदेश रंगशाला निर्माणका लागि न्यूनतम ५० करोड, लोकप्रिय जनता सडक कार्यक्रमलाई निरन्तरता दिई प्रतिनिर्वाचन क्षेत्र १० करोड रुपैयाँ बजेट विनियोजन गर्नुपर्ने माग गरेको छ ।

यसैगरी सुर्खेत मूलपानी, तेलपानी र बर्दिया भुरीगाउँ सडकको मूलपानी रानीघाट खण्डका लागि कम्तीमा १० करोड, सुर्खेत उपत्यका चक्रपथ निर्माणका लागि २० करोड, निर्वाचन क्षेत्रमा आयआर्जन कार्यक्रमका लागि ५ करोड, औपचारिक संरचना निर्माण गरी प्रदेशमा उल्लेख्य संख्यामा रहेका दलित समुदायको सामाजिक तथा आर्थिक रूपान्तरणका लागि ५० करोड रुपैयाँ विनियोजन गर्नुपर्ने एमालेको माग छ ।

प्रदेश अस्पतालको पूर्वाधार निर्माण तथा आवश्यक उपकरण व्यवस्थापनका लागि २५ करोड, प्रदेशस्तरीय प्रयोगशालाको पूूर्वाधार निर्माण तथा आवश्यक उपकरण व्यवस्थापनका लागि १५ करोड, कोभिड लगायतका महामारी नियन्त्रणका लागि १० ओटा जिल्ला अस्पताल र २७ ओटा रणनीतिक अस्पतालको पूर्वाधार विकासका साथै आवश्यक उपकरण व्यवस्थापनका लागि प्रतिअस्पताल न्यूनतम ३ करोड विनियोजन गर्नुपर्ने मागपत्रमा उल्लेख छ । साथै सुर्खेत उपत्यकाको डुबान समस्या समाधान गर्न निकासदेखि इत्राम खोला र खोर्के खोलामा तटबन्ध निर्माणका लागि १० करोड, प्रदेशले छनोट गरेका १०० पर्यटकीय गन्तव्यको एकीकृत योजना बनाई बजेट व्यवस्था गर्नुपर्ने, राराको पूर्वाधार विकासका लागि ३ करोड, बुलबुले उद्यानको विकासका लागि २ करोड तथा लिमी भ्याली एकीकृत पर्यटकीय विकासका लागि ३ करोड विनियोजन गर्नुपर्ने लगायत  प्रदेशका विभिन्न क्षेत्रका लागि बजेट तथा कार्यक्रमको माग गरिएको छ । उक्त मागपत्र बुझ्दै मुख्यमन्त्री शाहीले बजेटको क्षमताले भ्याएसम्म सम्बोधन गरिने बताएका छन् ।

Translate »