खाने तेलको मूल्य २८ प्रतिशतले बढ्यो

तलब र ज्याला वृद्धिदर भने घट्यो

जेठ ३१ , काठमाडौं । एक वर्षमै घ्यू तथा तेलको मूल्य २८ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिनाको आर्थिक तथा वित्तीय अवस्थाबारे अध्ययन रिपोर्ट सार्वजनिक गर्दै घ्यू तथा तेलको मूल्य वृद्धि एक वर्षमै २८.२० प्रतिशतले बढेको जानकारी दिएको हो ।

घ्यू तथा तेलको मूल्यमात्रै होइन २०७७ वैशाखको तुलनामा २०७८ वैशाखमा अन्य वस्तुहरुको समेत मूल्य वृद्धि भएको छ । यस अवधिमा मासु तथा माछाको समेत मूल्य वृद्धि १७.१२ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ ।

यसैगरी २०७७ वैशाखको तुलनामा २०७८ वैशाखमा गैर-मदिराजन्य पेय पदार्थको मूल्य ९.८५ प्रतिशत र सुर्तीजन्य पदार्थ उपसमुहको मूल्यवृद्धि ९.८४ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ । सगम्रमा उपभोक्ता मुद्रास्फीति भने घटेको राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकका अनुसार २०७८ वैशाखमा वाषिर्क बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.८३ प्रतिशत रहेको थियो । वैशाखसम्म खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७२ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.८१ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा काठमाडौं उपत्यकामा ३.६२ प्रतिशत, तराईमा ३.५१ प्रतिशत, पहाडमा ४.१४ प्रतिशत र हिमालमा १.३३ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ वैशाखमा यी क्षेत्रहरुमा क्रमशः ५.७१ प्रतिशत, ६.३५ प्रतिशत, ५.११ प्रतिशत र ५.१९ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

घ्यू, तेल तथा माछामासुको मूल्य वृद्धि यतिधेरै देखिदा उता श्रमिकहरुको आम्दानी वृद्धिदर भने खुम्चिएको छ । राष्ट्र बैंकका अनुसार तलब तथा ज्यालादर सूचकाङ्क वृद्धिदर निकै घटेको छ । तेल लगायतको मूल्यवृद्धि त्यतिधेरै देखिदा २०७८ वैशाखमा वाषिर्क बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.८९ प्रतिशतलेमात्रै बढेको छ ।

जबकी अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.४९ प्रतिशतले बढेको थियो । वैशाख महिनामा ज्यालादर सूचकांक भने २.४३ प्रतिशतले बढेको राष्ट्र बैंकले बताएको छ । (अनलाइन खबर)

Translate »