जुम्लामा एमबीबीएस पढाइ हुने

२५ सिट दिने आयोगको निर्णय

जुम्ला । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीवासीको सपनाले सार्थकता पाएको हो । बहुप्रतीक्षित सो कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगले स्वीकृति दिने निर्णय गरेको छ ।

यही जेठ २९ गते सम्पन्न आयोगको बैठकले प्रतिष्ठानमा स्नातक तहको एमबीबीएस कार्यक्रम शुरुआत गर्न स्वीकृति दिने निर्णय गरेसँगै अब कर्णालीमा डाक्टरी पढाइको वैधानिक ढोका खुलेको हो ।

आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाले प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शुरू गर्ने निर्णय भइसकेको जानकारी दिँदै चालू आर्थिक वर्षको शैक्षिक सत्रभित्र नै कार्यक्रम सञ्चालन हुने जानकारीलाई दिए । ‘कोभिड–१९ का कारण निर्णयसहितका प्रक्रियामा ढिलो भए पनि यही शैक्षिक सत्रमा एमबीबीएस कार्यक्रम सञ्चालन हुन्छ,’ उनले भने, ‘हाललाई एमबीबीएस सञ्चालन गर्न प्रतिष्ठानलाई करीब २५ सिट दिने गरी निर्णय भएको छ ।’

आधिकारिक रूपमा एक/दुई दिनभित्रै आयोगका बैठकका निर्णय सार्वजनिक गरिने उनको भनाइ थियो । प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा निरेश थापाले घरआँगनमा डाक्टर बन्ने कर्णालीका मेघावी छात्रछात्राको सपना पूरा भएको बताए । ‘कर्णालीलाई मेडिकल हब बनाउने ढोका खुलेको छ । प्रतिष्ठानमा एमबीबीएस र एमडी कार्यक्रम सञ्चालनले गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुनिश्चित गर्न थप कोसेढुंगाको गर्नेछ,’ उनले भने । प्रतिष्ठानमा चिकित्सा शिक्षाको स्नातकोत्तर तहको अध्यापन शुरुआत भइसकेको छ ।

प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमृत भण्डारी प्रतिष्ठानमा चिकित्सा शास्त्रका थप नयाँ कार्यक्रम सञ्चालनका तयारी भइरहेको जानकारी दिँदै एमबीबीएस र एमडी कार्यक्रमले चिकित्सा शिक्षामा नयाँ ढोका खुला गरेको जानकारी दिए । ‘प्रतिष्ठानले कर्णालीवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । अब सेवाका साथसाथमा शिक्षामा जोड दिन्छौं,’ उनले भने । कोरोना परीक्षण तथा उपचारमा प्रतिष्ठानद्वारा सञ्चालित जुम्ला अस्पतालले देशमा नै उत्कृष्ट सेवा पुर्‍याउँदै आएको छ । प्रतिष्ठानले कर्णालीका डाक्टर अभाव भएका अस्पताल तथा पालिकामा डाक्टरको व्यवस्था समेत गर्दै आएको छ ।(आर्थिक अभियान)

Translate »