विद्युतको अनियमित आपूर्तिको मारमा उपभोक्ता

स्काई न्यूज/ सुर्खेत । सुर्खेतमा विद्युत् आपूर्ति अनियमित हुँदा कोरोनाले प्रभावित उपभोक्ताको दिनचर्या झनै कष्टकर बनेको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाले घरमै बस्न बाध्य नागरिक विद्युत् नियमित आपूर्ति नहुँदा थप समस्यामा परेका हुन् ।

पटकपटक बत्ती गइरहने र आए पनि कम भोल्टेजले उपभोक्तालाई सास्ती भएको छ । वीरेन्द्रनगरका सोनेलाल सुनार अलिकति हावाहुरी चल्नेबित्तिकै बत्ती जाने गरेको बताउँछन् । ‘अघोषित लोडशेडिङले उपभोक्ताले सास्ती खेप्दै आएका छन्,’ उनले भने ।

लोडशेडिङ नभए पनि छिनछिनमै विद्युुत् जाने समस्याले उपभोक्ता मात्र होइन, विद्युत् प्राधिकरणका कर्मचारीसमेत आजित छन् । ‘कतिबेला विद्युुत् आउँछ, कतिबेला जान्छ, पत्तै हुँदैन,’ वीरेन्द्रनगर–१० का श्यामभक्त आचार्यले भने, ‘विद्युुत् प्राधिकरणले न उपभोक्तालाई विद्युुत् जाने सूचना दिन्छ न आउने जानकारी नै ।’ विद्युुत् नियमित नहुँदा सरकारी कर्मचारी र सञ्चारकर्मीलाई पनि समस्या भएको छ ।

३३ केभीएको कोहलपुुर स्टेशनबाट धेरै ठाउँमा विद्युुत् वितरण भएकाले आपूर्तिमा समस्या आउने गरेको प्राधिकरणका कर्मचारी बताउँछन् । विद्युत् वितरण केन्द्रका अनुसार कोहलपुुरबाट सुर्खेत आउने ३३ केभीए प्रसारण लाइन निकै पुुरानो भएकाले पनि समस्या हुुने गरेको छ । ‘नयाँ १३२ केभीए लाइन नबन्दासम्म यो समस्या यस्तै भइरहनेछ,’ विद्युत्का एक कर्मचारीले भने, ‘पुरानो विद्युत् वितरण संरचना भएकाले प्राविधिक समस्या आउँदा विद्युत् काट्नुपरेको हो ।’ नयाँ ट्रान्सफर्मर जडान गर्दै गरेको र सडकमा काम भइरहेकाले केही दिनयता बत्ती अलि बढी जाने आउने भएको उनको भनाइ छ ।

सुर्खेतका साथै जाजरकोट, दैलेख, सल्यान र पश्चिम रुकुुमको कुुनै पनि ठाउँमा वितरण प्रणालीमा कुुनै खराबी आए सीधै कोहलपुुर स्टेसनबाटै विद्युुत् बन्द हुुने गरेको छ । यी पाँच जिल्लाका बासिन्दा अघोषित लोडशेडिङको मारमा छन् । कतिपय अवस्थामा मर्मतमा ढिलाइ हुुने र कतिपय अवस्थामा सिस्टमले नै काम नगर्दा समस्या हुुने गरेको विद्युत् प्राधिकरणको भनाइ छ । पछिल्ला दिनमा सुर्खेत, दैलेख, जाजरकोटमा दैनिक २०औं पटकसम्म विद्युुत् अवरुद्ध हुुने गरेको छ ।

उपभोक्ता साँझपखको कम भोल्टेजका कारण थप समस्या भोग्न बाध्य छन् । सरकारले कर्णाली प्रदेशका विभिन्न जिल्लाका लागि सुुर्खेतको सुुब्बाकुुनामा विद्युुत् वितरण स्टेसन बनाउने तयारी गरेको बताइए पनि विगत ७ वर्षदेखि कोहलपुर–सुर्खेत १३२ केभीए प्रसारण लाइन विस्तारको काम अहिले पनि प्रक्रियामै रहेको बताइएको छ । कर्णाली प्रदेशमा आउने विद्युत् प्रसारण लाइनको केन्द्रविन्दु अब सुर्खेतमै बनाउनुपर्ने उपभोक्ताको माग छ ।

Translate »