प्रधानमन्त्रीको हत्या धम्की दिने सांसद नरोत्तम बैद्यलाई कार्वाही माग

आपराधिक, फौजदारी कानून आकर्षित हुन्छ,’ एमाले


जेठ २९, काठमाडौं ।  
नेकपा एमालेले नेपाली कांग्रेसका बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले हिजो दिएको अभिव्यक्तिको भर्त्सना गरेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार विज्ञप्ति जारी गर्दै वैद्यलाई कारबाही गर्न माग गरेका छन् ।

ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न तयार रहेको भन्ने वैद्यको अभिव्यक्तिलाई एमालेले अत्यन्त गम्भीर रुपमा लिएको र नीजलाई फौजदारी अभियोगमा कार्वाही गर्नु पर्ने उल्लेख गरेका छन् ।

‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ । उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

वैद्यले शुक्रबार बागमती प्रदेशसभामा बोल्दै प्रधानमन्त्री ओलीको हत्या गर्नका लागि एक जना नाथुराम गोट्सेको आवश्यकता परेको र कोही नभए आफू त्यो बन्ने भन्ने अभिव्यक्ति दिएका थिए । नाथुराम गोट्सेले भारतमा महात्मा गान्धीको हत्या गरेका थिए ।

Translate »